close

रामग्रामको सहयोगमा बन्यो रेडक्रसको गोदाम घर 

रामग्रामको सहयोगमा बन्यो रेडक्रसको गोदाम घर 

Trulli
ADVERTISEMENT

नवलपरासी- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले रामग्राम नगरपालिकाको सहयोगमा निर्माण गरेको गोदाम घर उद्घाटन गरिएको छ । तेस्रो वार्षिक साधारणसभाको अवसरमा परासीमा सम्पन्न कार्यक्रममा सोसाइटीको परिसरमा र्निमित गोदाम घर उद्घाटन गरिएको हो ।


कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले राहत सामग्री राख्न रेडक्रस गोदाम घर निर्माण गरिएको जानकारी दिए । आगामी दिनमा एम्बुलेन्स खरिद गरी रेडक्रसलाई नै सञ्चालनका लागि हस्तान्तरण गरिने उनको भनाइ छ ।

 

गुप्ताले रेडक्रससँग सहकार्य गरेर रामग्रामभित्रका नागरिकलाई निःशुल्क रगत प्राप्त गर्ने व्यवस्था मिलाइने बताए ।

 

रेडक्रसका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीले मानवीय सेवालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न हरेक स्थानीय तह र वडालाई समेटी जिल्लामा हाल १६ वटा उपशाखा र ४८ वटा सर्कलमार्फत विपद् व्यवस्थापनका काम भइरहेको जानकारी दिए ।

 

रेडक्रसले उद्धार तथा राहत वितरण, एम्बुलेन्स सेवा, रक्त सञ्चार सेवा, प्राथमिक उपचारगायत सेवा सञ्चालन गरिरहेको उनले बताए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, रेडक्रसका लुम्बिनी प्रदेश सदस्य हैदरअलि मोमिन, संस्थापक सदस्य दुधनाथ गुप्तालगायतले शुभकामना दिए ।


उक्त अवसरमा रेडक्रसलाई विशेष सहयोग गर्ने नगरप्रमुख गुप्ता, प्रजिअ पाठक, सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेललगायतलाई सम्मान गरिएको थियो । रामग्राम वडा नम्बर ३ का राजकुमार रेश्मीलाई विशिष्ट सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।