close

महाङ्काल गाउँपालिकामा स्थानीयले लगाए ताला 

महाङ्काल गाउँपालिकामा स्थानीयले लगाए ताला 

Trulli
ADVERTISEMENT

ललितपुर– महाङ्काल गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । महाङ्काल युवा संघर्ष समितिले विभिन्न ३ बुँदे मागहरु राख्दै उक्त माग पुरा नभएसम्मका लागि कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरेको हो । 

 

संघर्ष समितिका संयोजक निरन्जन घिमिरेले विगतमा पटकपटक आफूहरुसँग माग पुरा गर्ने सहमति गरेपनि कार्यान्वयन नगरेका कारण यस्तो निर्णय गर्नुपरेको बताए ।  समितिले गाउँपालिकामा पालिका स्तरीय खेलकुद विकास समिति गठन गर्नुपर्ने, गाउँपालिकाको हरेक कार्यक्रम तथा विकास निर्माणमा आर्थिक पारदर्शिता हुनुपर्ने तथा सुचनाको हक अधिकार सम्बन्धी माग राख्दै उक्त समितिले आइतबारबाट तालाबन्दी गरेको हो ।  


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले भने समितिसँग बसेर  छलफल गर्दागर्दै बीचमै उठेर विरोध गर्दै तालाबन्दी गरेको बताए ।


समितिका मागहरु प्रक्रियावद्ध रुपमा पुरा गर्न आफुहरु सकारात्मक रहेको भन्दै पाण्डेले भने, ‘स्थानीय तह संचालन ऐनलाई टेकेर खेलकुद विकास समिति निर्माण कार्यविधि बनाउन हामी प्रक्रियामै छौं, सुचना सम्बन्धी मागहरुलाई पनि कार्यपालिका बैठकबाट निर्णय गरी पुरा गर्न प्रतिबद्ध छौं, तर उहाँहरु वार्ता गर्दागर्दै बीचमै उठेर विरोध गर्न थाल्नुभयो ।’ 


गाउँपालिका उपाध्यक्ष कमला तामाङ्गले कार्यविधि बनाएर मागहरु पुरा गरिने बताइन् । संघर्ष समितिले भने आइतबारको बैठकले कुनै निर्णय नगरेको र खेलकुद समिति बनाउने बिषयमा कार्यविधि बनाउने बहानामा आफ्ना माग पुरा नगरेकोले तालाबन्दी गर्नुपरेको  बताएको छ । 

समितिका केही युवाहरुले गत फागुन २३ र २६ गते माग पुरा गर्न दवाब दिने बहानामा गाउँपालिका अधयक्ष रामचन्द्र दाहालमाथि अभद्र व्यवहार र हातपात गरेको गाउँपालिकाले आरोप लगाएको छ ।  आइतबार नै नेकपा एमाले गाउँ कमिटीले विज्ञप्ति जारी गर्दै अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।