close

ललितपुर महानगरमा चल्यो अपांगतामैत्री बस

ललितपुर महानगरमा चल्यो अपांगतामैत्री बस

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरपालिकाभित्र अपांगतामैत्री सवारीसाधन सञ्चालनमा आएको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले मंगलबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपांगता भएका व्यक्तिहरूको हितमा क्याब व्यवस्था गरिदिएर त्यसको साँचो हस्तान्तरण गरे ।
 

नगरप्रमुख महर्जनले स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेपछि अपांगता भएका व्यक्तिका लागि थुप्रै काम गर्ने घोषणापत्रमा उल्लेख गरेकाले सोहीअनुरूप वाचा पूरा गर्दै गएको बताए ।

 

सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एउटा चालक, इन्धन, सवारी बिमा, ब्लुबुक नवीकरण आदि खर्च महानगरपालिकाले बेहोर्ने महर्जनले जानकारी दिए । 

 

केन्द्रका ललितपुर अध्यक्ष श्रेष्ठले सो अपांगतामैत्री सवारीसाधन अर्थात् क्याब महानगरपालिकाभित्र रातो र नीलो अपांगता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लैजान प्रयोग गरिने बताए ।

 

उनले भने, ‘महानगरपालिकाभित्र हालसम्म ५५२ जनाले अपांगताको परिचयपत्र लिइसकेका छन् । बहुअपांगता भएकाले यो सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।’ 

 

महानगरपालिका कार्यालयमा आफूहरूको हितमा बस्ने कक्ष, तलमाथि गर्न लिफ्ट, अपांगमैत्री शौचालय, बगैँचा, फुटपाथ र सवारीसाधनसमेत उपलब्ध गराइदिएर जीवन जिउन सार्थक बनाइदिएको उनको भनाइ छ । 

 

प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले महानगरले बहुअपांगता भएका व्यक्तिका लागि एउटा सवारीसाधन भित्र्याएर अन्य स्थानीय तहका लागि उदाहरणीय काम गरेको चर्चा गरे ।

 

महानगरकी उपप्रमुख गीता सत्यालले बहुअपांगता भएका व्यक्तिलाई सो सवारीसाधनको सहयोगले नयाँ जीवन जिउन सजिलो हुने विश्वास व्यक्त गरिन् ।

 

सो सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले २० लाख, केन्द्र ललितपुरले ३ लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङले १६ लाख ७५ हजार रुपैयाँ खर्च गरेको बताइएको छ । 

 

सो क्याबमा ४ जना ह्विलचियरसहित पछाडि र २ जना अगाडि बस्न मिल्छ । कार्यक्रममा बहुअपांगता भएका सविना डंगोल, सञ्जु महर्जन र उदयबहादुर पौडेललाई महानगरपालिका प्रांगणबाट केन्द्रको कार्यालयसम्म सवारीसाधन चढाएर सञ्चालनमा ल्याइएको छ ।