close

कोरोना नियन्त्रणमा गल्याङले बढायो सक्रियता (भिडियो खबर)

कोरोना नियन्त्रणमा गल्याङले बढायो सक्रियता (भिडियो खबर)

ADVERTISEMENT

स्याङ्जा- नेपालमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएको पनि दुई महिना भयो । वैशाख पहिलो साता देखि देशभर फैलिएको महामारी अहिले पनि समुदायस्तरमा देखिएको छ । स्थानीय सरकारको उपस्थितिका कारण नै हालको महामारी रोक्न सफलता विस्तारै मिल्दै गएको छ । संक्रमण रोक्न पालिकाहरूले आफ्नै बलबुतामा विभिन्न आइसोलेसन र अस्पताल बनाए ।

 

सुरुमा त महामारीकै भयका बीच विस्तारै काम गरेका स्थानीय सरकारले अन्य शीर्षकका लागि विनियोजित बजेट छुट्याएरै भएपनि महामारी रोक्ने प्रयास गरे । यसैबीच स्याङ्जामा पनि महामारी रोक्न स्थानीय सरकारले निर्वाह गरेको उत्तरदायित्व सफल हुँदै गएको छ ।

 

गल्याङ नगरपालिकाले वडा - वडामा पुगेर परीक्षणको दायरा बढाएको छ भने विपन्नको निशुल्क उपचार गर्ने नीति लिएको छ । वैशाखको सुरुवात देखि नै मुलुकलाई महामारीले गाँज्न थाल्यो । दोस्रो साता देखि सरकारले निषेधाज्ञा जारी नै गर्‍यो । निषेधाज्ञा गर्नुको मुख्य कारण भनेकै महामारीको चेन ब्रेक गर्नु हो । र, त्यो सफल पनि भइरहेको छ ।

 

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने संक्रमणको दर घटिरहेको छ । देशभर सरकारी र निजी गरी ९० वटा ल्याब कोरोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सीमा नाका तथा स्थानीय स्तरमा एन्टिजेनमार्फत परीक्षण भइरहेको छ । नयाँ संक्रमित थपिने क्रम विस्तारै घटिरहेको छ । तर, गाउँगाउँमा भने अझै संक्रमण छ कि छैन भनेर कोरोना परीक्षणको दायरालाई गाउँगाउँ, टोलटोल पुर्‍याइएको छ ।

 

गल्याङ नगरपालिकाले पनि टोल पुगेर परीक्षण गरिरहेको छ । र, परीक्षण गरिएका मध्ये अति विपन्नको पालिकाले निशुल्क उपचारको व्यवस्था पनि गरेको छ । अति प्रभावित क्षेत्रमा नगरपालिकाको टोली र स्वास्थ्यकर्मी गाउँ गाउँमा पुगेर परीक्षण गर्दा स्थानीय पनि खुसी छन् । धेरैले पालिकाले महामारी नियन्त्रण गर्न गरिरहेको कामको खुलेर स्वागत गरिरहेका छन् । अलिक अगाडीबाट गर्नुपर्ने काम ढिलै सुरु गरेपनि महामारी रोक्न र संक्रमितको यकिन संख्या थाहा पाउन सहयोग पुग्ने अपेक्षा स्थानीयको छ । 


हाल नगरपालिकाले गरेको परीक्षणमा वडा नम्बर ११ गिनचौरका ६१ जनाबाट एक जनामा, गल्याङ् बजारका ४२ जनाबाट एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै, तुलसीभञ्ज्याङका ३७ जनामा परीक्षण गरेकोमा ५ जनामा संक्रमण देखिएको छ । हालसम्म नगरपालिकामा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।