close

मेडिकल भिलेज बन्दै जुम्लाको चेरेचौर 

मेडिकल भिलेज बन्दै जुम्लाको चेरेचौर 

Trulli
ADVERTISEMENT

जुम्ला–सदरमुकाम खलंगा बजारदेखि उत्तरी भेगमा चेरेचौर मेडिकल भिलेज बन्दै छ । खलंगादेखि करिब ६ किलोमिटर दूरीमा रहेको चेरेचौर चन्दननाथ नगरपालिका वडा नम्बर ३ का स्थानीयले नापी भएको जग्गा निःशुल्क कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई दिएका छन् । चेरेचौर पर्यटकीय क्षेत्र पनि हो । डाँफे लेक नजिकको चेरेचौरमा सदरमुकाम खलंगाको दृश्यावलोकन गर्न सकिन्छ ।

 

जुम्ला सडक सञ्जालमा नजोडिनुअघि सदरमुकाम खलंगा, घुघुत्ती, चेरेचौर, डाँफे लेक हुँदै पर्यटक पैदल यात्रामा मुगुको रारा ताल घुम्न जाने गर्थे । अहिले त्यो ठाउँबाट सडक खनिएकाले सवारी साधनमार्फत रारा पुग्न सकिन्छ । चेरेचौर मेडिकल भिलेज बन्ने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चेरेचौरमा एमबीएस अध्ययन र अध्यापनका लागि झन्डै २३ वटा भौतिक संरचना भवन निर्माण गर्ने तयारी छ ।


प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार प्रतिष्ठानले एमबीएस सुरु गरेपछि मेडिकल पढाइ सञ्चालन गर्न २३ वटा भवन निर्माण योजना अघि बढाएको छ । उनले भने, ‘अब चेरेचौरलाई प्रतिष्ठानको दीर्घकालीन योजनाअनुसार मेडिकल भेलेजका रूपमा विस्तार गरिनेछ । चेरेचौरमा एउटा भवन निर्माण सुरु भइसकेको छ ।’

 

रसुवा कम्पनीले निर्माण थालेको भवन वरपर २३ वटा भवन निर्माण हुनेछन् । डाँफे लेक नजिकैको चेरेचौर अग्लो स्थानमा रहेकाले मेडिकल शिक्षा अध्ययन हुने भएकामा जुम्ला र चेरेचौर नेपालका मेडिकल शिक्षाको रोल मोडल मेडिकलका रूपमा देखिने सम्भावना छ । हिमाली क्षेत्र, जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोनधारी डाक्टर उत्पादन हुनेछन् ।

 

चेरेचौरमा रहेको ५ सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएकामा ३ सय रोपनी जग्गा प्रतिष्ठानको नाममा नामसारी भइसकेको छ । सोही क्षेत्रमा शैक्षिक भवन निर्माण गर्न  सरकारसमक्ष प्रस्ताव पेस गरिएको छ ।प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको ३ सय शय्याको अस्पताल क्षेत्रमा अहिले एमबिबिएसलगायत कक्षा सञ्चालन भइरहेका छन् । बर्सेनि बिरामी संख्या बढ्दै जाने र संरचना साँघुरो हँुदै गएकाले एमबिबिएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न चेरेचौरमा भौतिक संरचना निर्माण थालिएको हो ।

 


चेरेचौरमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीन वटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ । पछिल्लो समय प्रतिष्ठानमा एमबिबिएस अध्ययन गर्न २० जना विद्यार्थी भर्ना भइसकेका छन् । जुम्लामा प्रतिष्ठान स्थापनापछि स्वास्थ्य क्षेत्रमा परिर्वतन हुन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षा सञ्चालन भइरहेका छन् ।

 

प्रतिष्ठानमा पहिलो पटक चालू शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरु भइसकेको छ । सो तहमा भक्तपुरका डा.रहिस कोजू, काठमाडौंका डा. प्रशंसा ताम्राकार र कपिलवस्तुका डा.वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् । 

 

दार्चुलाका डा.ललितसिंह धामी एनेस्थेसिया र बाराका डा.मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन् । प्रतिष्ठानले यो वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), नर्सिङ अध्यापन सुरु गरेको छ । ती दुवै विषयमा २०÷२० जना विद्यार्थी अध्ययन गर्नेछन् ।

 

यसअघि प्रतिष्ठानमा बिएनएस मिडवाइफ्री र बिपिएचको अध्यापन सुरु भइसकेको छ । प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच जनाले शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३ सय शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ ।

 

अस्पतालमा १० शय्याको सघन उपचार कक्ष (आइसियू) र चार शय्याको शल्यक्रिया कक्ष छ ।  चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. निरेश थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीका मेधावी छात्रछात्राको सपना पूरा भएको बताए ।

 

‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालन भएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न कोसेढुंगा सावित हुनेछ,’ उनले भने, ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोसेढुंगा हो । अब अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’