close

काभ्रेमा विद्युतीय राहदानी सेवा 

काभ्रेमा विद्युतीय राहदानी सेवा 

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले विद्युतीय राहदानी सेवा दिन थालेको हो ।  

 

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे राज्यले लिएको नीतिअनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताउँछन् । आइतबारदेखि नै सुरु भएको सो सेवा अहिले कोरोना संक्रमण जोखिमका कारण आगामी २१ माघसम्म अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताए ।

 

त्यसका लागि घरमै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपीलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

 

भरेको फर्म सीधै राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उनको भनाइ छ । त्यसका लागि बैंकको शाखा पनि नजिकै चाहिने हुनाले शाखा सञ्चालन व्यवस्थापन गर्ने काम भइरहेकाले केही दिनका लागि बैंकसम्म पुगेर भुक्तानी गर्नुपर्ने अवस्था छ । विद्युतीय राहदानी फर्म भर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसका लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिने काम भएको उनले बताए ।