close

हुम्ला विमानस्थलमा दुई फिटसम्म हिउँ, तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला विमानस्थलमा दुई फिटसम्म हिउँ, तीन दिनदेखि हवाई सेवा अवरुद्ध

Trulli
ADVERTISEMENT

हुम्ला– हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार हिमपात हुनु र शनिबार मौसममा सुधार आएको भएपनि विमानस्थलमा दुई फिटभन्दा बढी हिउँ जमेको कारण हवाई सेवा अवरुद्ध भएको हो ।

 

नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले दुई तीन दिन लगातार हवाई सेवा अवरुद्ध भएको बताए । उनले २८ घण्टासम्म हिमपात भएको र शनिबार मौसममा सुधार आएर घाम लागेको भएपनि विमानस्थलमा दुई फिट हिउँ जमेको कारण विमानस्थल सेताम्मे भएकोले पूर्णरुपमा हवाई सेवा अवरुद्ध भएको बताए ।

 

उनले कार्यालयसँग भएको स्नोलक भईकलले एक फिट हिउँ मात्र फाल्न सक्ने तर विमानस्थलमा दुई फिट हिउँ जमेको कारण हिउँ पन्छाउन समस्या भइरहेको बताए । यद्यपि, हिउँ फाल्ने प्रयास भने गरिने भएको छ । बिहीबार, शुक्रबार र शनिबार नेपालगञ्ज र सुर्खेतबाट बिहानैबाट उडान भर्ने तयारी गरेको भएपनि हुम्लामा हिमपातको कारण उडान अवरुद्ध भएको हो । हवाई सेवा अवरुद्ध भएपनि जिल्ला बाहिरबाट आउने र जाने डेढ सय यात्रु समस्यामा पर्नुका साथै खाद्यन्न र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन ।

 

त्यसैगरी, हवाई सेवा अवरुद्ध भएपछि सिमकोट विमानस्थलबाट नेपालगञ्ज निकासी हुने जडिबुटी पनि रोकिएको छ । अब विमानस्थलमा जमेको हिउँ स्नोलक भेइकलले पन्छाएपछि मात्र हवाई सेवा सुचारु हुनेछ । सिमकोट विमानस्थलमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सका विमानहरुले दैनिक पन्द्रभन्द बढी उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध भएसँगै हुम्लामा दैनिक उपाभोग्य सामाग्री, खाद्यन्न र तरकारीको समस्या हुन थालेको छ । यसवर्षको यो हिमपातको कारण तेस्रो पटक हवाई सेवा अवरुद्ध भएको हो ।