close

१५६ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलले कति सिट पाए ?

१५६ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलले कति सिट पाए ?

Trulli
ADVERTISEMENT

मंंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तगर्त प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १५६ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

१५६ क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस ५३ सिटमा जीत हासिल गर्दै पहिलो दल बनेको छ । मुस्ताङबाट विजयी यात्रा सुरु गरेको कांग्रेसले आइतबार बिहान सम्ममा देशभरका ५३ क्षेत्रमा विजय प्राप्त गर्न सफल भएको छ भने ३ क्षेत्रमा अग्रता बढाईरहेको छ ।

यस्तै एमाले ४१ निर्वाचन क्षेत्रमा जितेर दोस्रो दल बनेको छ । एमालेले २ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले १७ सिटमा जीत हासिल गरेको छ । त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशका १० क्षेत्रमा जीत निकालेको छ । निर्वाचनको संघारमा गठन भएर संसदीय चुनावमा सहभागी भएको पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ७ स्थानमा विजयी भएका छन् भने एक स्थानमा अग्रता कायम राखेका छन् । 

एमालेसँग चुनावी तालमेल गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७ र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार ६ क्षेत्रमा विजयी भएका छन्। ५ दलिय सत्ता गठबन्धको अर्को घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ क्षेत्रमा जीत निकालेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले ३, मुलुक विखण्डनको मुद्दा छाडेर मुलधारको राजनीतिमा आएको जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभाका १–१ सिटमा जीत दर्ता गरेका छन् । हालसम्म मतगणना सम्पन्न भएका क्षेत्रमध्ये ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।