close

दाेलखा प्रदेश सभा–२ मा पूर्व मेयर केसी विजयी

दाेलखा प्रदेश सभा–२ मा पूर्व मेयर केसी विजयी

Trulli
ADVERTISEMENT

दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार तथा भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर भरतबहादुर केसी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई हराउँदै प्रदेश सदस्यमा केसी निर्वाचित भएका हुन् ।

केसीले १९ हजार ४१४ मत ल्याएका थिए भने कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याएका थिए । १८ सय ९ मतको अन्तरमा केसीले लामालाई पराजित गरेका हुन् ।

मंसिर ४ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न भएपनि दोलखाको केही मतदान केन्द्रमा सत्तागठबन्धनले बुथ कब्जा गरे पछि निर्वाचन आयोगले मंसिर १५ गते केही मतदान केन्द्रमा पुन मतदान गराएको थियो ।

पराजय भएपछि कांग्रेस जिल्ला सभापति लामाले कांग्रेस र गठबन्धनले अन्र्तघात गरेर हराएको आरोप सामाजिक सञ्जाल मार्फत लगाएका छन् । गठबन्धनले प्रदेश सभा २ को शैलुङ गाउँपालिकाको भुसाफेदा लगायतका मतदान केन्द्रमा बुथ कब्जा गरेको आरोप एमालेले लगाएको छ ।

‘बुथ कब्जा गरेपनि सबै मतदाताहरुले एमालेलाई विश्वास गरेर जिताउनु भएको छ,’प्रदेश सभामा जित पछि एमाले दोलखाको उपाध्यक्ष राजेन्द्र मान्नधरले भने ।

प्रतिनिधिसभा र प्रदेश सभा १ मा भने मतगणना भैरहेको छ । प्रदेश सभामा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्लेको अग्रता रहेको छ । उनको प्रदेश अन्तर्गत रहेको बैतेश्वर,तामाकोशीका अधिंकाश बुथ कब्जा भएको थियो । प्रतिनिधिसभामा भने एमालेका बालकृष्ण शिवाकोटीको अग्रता रहेको छ ।