close

महानिरीक्षक राजु अर्यालको कडा कदम : पूर्वानुमान सूचीका आधारमा ९७ एसपीहरुको सरुवा

‘... तर यसपटक महानिरीक्षकले बोलेअनुरुपनै काम गर्नुभयो । यसले जिम्मेवार भएर थप काम गर्ने हौसला मिलेको छ ।’

महानिरीक्षक राजु अर्यालको कडा कदम : पूर्वानुमान सूचीका आधारमा ९७ एसपीहरुको सरुवा

‘... तर यसपटक महानिरीक्षकले बोलेअनुरुपनै काम गर्नुभयो । यसले जिम्मेवार भएर थप काम गर्ने हौसला मिलेको छ ।’

Trulli
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल
ADVERTISEMENT

काठमाडौं । मापदण्ड विपरित सरुवा, बढुवा हुने गरेको गुनासो संगठनबाटै आएपछि सशस्त्र प्रहरी बलको महानिरीक्षकमा राजु अर्याल बहाली हुने बित्तिकै उनले पारदर्शी रुपमा पूर्वानुमानका आधारमा दबाबहीन सरुवा बढुवालाई कार्यान्वयन गर्ने बताएका थिए । नभन्दै गत बिहीबार ९७ जना सशस्त्र प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवामा महानिरीक्षक अर्यालले पूर्ण पूर्वानुमान सूचीकै आधारमा सरुवा गर्दै जिम्मेवारी तोकेपछि सशस्त्र प्रहरी संगठनभित्र नयाँ हलचल ल्याएको छ । 

हालसम्म एकपटक पनि कमाण्डको जिम्मेवारी नपाएका सशस्त्र प्रहरी उपरिक्षकलाई पहिलो प्राथमिकताका कार्यालयको नेतृत्वमा पठाइएपछि अचम्मित भएका एक एस्पीले भने, ‘बहाली हुने बित्तिकै पारदर्शी रुपमा सरुवा, बढुवा गरिने भनिएपनि पहिले यस्तो भएको थिएन । तर यसपटक महानिरीक्षकले बोलेअनुरुपनै काम गर्नुभयो । यसले जिम्मेवार भएर थप काम गर्ने हौसला मिलेको छ ।’ उनले सशस्त्र प्रहरी संगठनभित्र अब सुधार आउनेमा आफुलगायत सबैको विश्वास बढेको बताए । 

महानिरीक्षक अर्यालले गत बिहिबार सरुवा गर्दा एक पटक पनि कमाण्डको जिम्मेवारी प्राप्त नगरेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई पहिलो प्राथमिकताका कार्यालयहरुमा सरुवा गराएका थिए । त्यस्तै, रिजर्भ गण र तालिम शिक्षालयहरुमा कमाण्ड गरेका सशस्त्र प्रहरी उपरीक्षकहरु दोश्रो प्राथमिकताका कार्यालयमा सरुवा भएका छन् । विगतमा मूख्य गणमा कमाण्ड गरिसकेकाहरुलाई तेस्रो प्राथमिकताका कार्यालयमा सरुवा गरिएको छ । 

सरुवा पूर्वानुमान सूचीमा मूख्य उम्मेदवारको रुपमा रहेपनि देशभित्र र बाहिर तालिम तथा विशेष जिम्मेवारीमा रहेकाहरुलाई भने यसपटक सरुवा गरिएको छैन । उनीहरुलाई सरुवा गर्दा सोही पूर्वानुमान सूचीकै आधारमा सरुवा गरिने महानिरीक्षकले बताउने गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । 

महानिरीक्षक अर्यालको यो कदमलाई सकारात्मक रुपमा लिएका एक सशस्त्र प्रहरी अधिकृतले भने, ‘सरुवामा जस्तै बढुवा सिफारिसमा पनि महानिरीक्षकले इमान्दारिता देखाउनुभए अनि बल्ल पूर्ण विश्वस्त हुने अवस्था बन्छ र संगठन पनि उहाँकै पालादेखि थप बलियो हुनेमा दुईमत नै हुँदैन । विभिन्न शक्ति केन्द्र धाउने बानी परेकाहरुलाई त गाह्रो होला नै तर संगठनभित्रका इमान्दारहरुका दिन आएको महसुस भएको छ ।’