close

विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस अनिवार्य

विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस अनिवार्य

Trulli
ADVERTISEMENT

दैलेख । गुराँस गाउँपालिकाको वडा नम्बर ८ मा विवाह गर्नुअघि अनिवार्य रुपमा सिफारिस लिनुपर्ने भएको छ । वडा कार्यालयले फागुन २३ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो । 

वडाध्यक्ष दिपेन्द्र वलीका अनुसार फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपरेमा वडा कार्यालयबाट पूर्व अनुमति  लिनु पर्ने निर्णय गरेको र सोही बमोजिम कार्यान्वयनमा ल्याएको हो ।  वडा कार्यालयले कानुनविपरित विवाह गर्न निषेध गरेपनि लुकिछिपी बालविवाह हुने गरेको साे निर्णय गरिएकाे उनले बताए । 

'गत मंसिर २९ गते बालमैत्री वडा घोषणा गरिएको छ । सोही बमोजिम पनि बालविवाहको अन्त्य हुनु पर्ने हो,' उनले भने, 'तर त्यसो भएन । खुल्ला रुपमा बालविवाहको अन्त्य भएपनि लुकिछिपी हुने गरेको पायौैं ।' 

ब्रतवन्धको निमन्त्रणामा बालविवाहको भोज खुवाउने गरेको पाइएको उनले बताए । समाजलाई ट्र्याकमा ल्याउनका लागि पनि वडा कार्यालयले सो निर्णय गरेको उनले बताए । उनका अनुसार सिफारिसको लागि विवाह गर्ने केटा र केटीको जन्मदर्ता पेश गरेर सिफारिस लिन सकिने छ । 

'सुरुमा कठिन होला । तर विस्तारै कार्यान्वयनमा आएसँगै सबैमा बानी बस्ने आशा लिएका छौँ,'उनले भने, 'यस निर्णयबाट बाल विवाहको अन्त्य हुने आशा लिएका छौं ।' 

उनका अनुसार बालविवाह अन्त्य गर्नको लागि वडा कार्यालयले विद्यालयस्तरीय र किशोरी लक्षित जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ । वडामा बाल सञ्जाल गठन गरिएको र सोहीमार्फत पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

वडा कार्यालयले गत पुसमा एक जना किशोरीलाई बालविवाहबाट उद्धार गरिएको बताए । उनको लुकिछिपि विवाह भएको रहेछ । 'हामीले उनको विवाहलाई छुट्याएर ल्यायौँ । पुन विद्यालयमा भर्ना गर्न लगायौँ,' उनले भने, 'साथै २५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका थियौं ।' 

उनले समुदायका व्यक्तिहरुको मिलमतोमा विवाह हुने भएकोले वडाले कुनै जानकारी नपाउने बताए । आफूहरुले थाहा पाएको अवस्थामा कानुनबमोजिम कारवाही गरिएको उनको दावी छ ।