close

बोधिभञ्ज्याङमा ‘एक घर,एक धारा’ जडान

बोधिभञ्ज्याङमा ‘एक घर,एक धारा’ जडान

Trulli
ADVERTISEMENT

स्याङ्जा - वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर्‍ याइएको हो ।

बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सबइञ्जिनियर वसन्तकुमार सुवेदीले बताए ।

आव २०७६/७७ देखि सुरु भएको उक्त योजना हालैमात्र सम्पन्न भई सञ्चालनमा आएको उनले बताए । दुई करोड १५ लाख ५६ हजार रुपैयाँ लागत अनुमान रहेको उक्त योजना गण्डकी प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी एक करोड ३७ लाख २५ हजार रुपैयाँमा सम्पन्न भएको हो ।
    
वालिङ–१३ को झलुङ्गेस्थित आँधीखोलाको किनारबाट विद्युत्को प्रयोग गरी पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका सचिव ध्रुव गौडेलले बताए । 'लामो दूरीबाट ल्याइएको पानीमा पटकपटक समस्या आएपछि नयाँ योजनाको खोजीमा थियौँ', उनले भने, 'आँधीखोलाको किनारमा रहेको मुल नजिकै ट्याङ्की निर्माण गर्‍यौँ त्यहाँबाट गाउँभन्दा माथि रहेको खरबारीमा एक लाख लिटर क्षमताको सङ्कलन ट्याङ्की निर्माण गरी त्यसैबाट गाउँका घरघरमा वितरण गरेका छौँ ।'

झलुङ्गे, बोधिभञ्ज्याङ, पीपलछापका प्रत्येक घरघरमा पाइपमार्फत पानी पुर्‍ याइएको छ । उक्त ठाउँमा रहेका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय, समाज भवन, सार्वजनिकस्थलमा समेत धारा जडान गरिएको छ ।

प्रत्येक घरमा २४सैँ घण्टा पानी खोल्ने गरिएको छ । घरघरमै पानी सहजरुपमा आएसँगै खोल्साखोल्सी, कुवामा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । टाढाबाट पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय खुसी छन् । दैनिक पानी खोल्न, बन्द गर्न तथा मर्मतसम्भारका लागि एक जना कर्मचारी राखिएको सचिव गौडेलले बताए ।

खानेपानी आयोजनाले पानी तान्नका लागि मासिकरुपमा रु चार हजार पाँच सयदेखि रु छ हजार पाँच सयसम्म विद्युत् महसुल बुझाउँदै आएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले लिफ्ट खानेपानीमा प्रयोग हुँदै आएको विद्युत्मा अनुदान दिने नीति ल्याएकाले विद्युत् महसुलको अनुदान प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको सचिव गौडेलले बताए।