close

प्रकृतिको दोहन : पहाडमा बाढीपहिरो र तराईमा डुबान

प्रकृतिको दोहन : पहाडमा बाढीपहिरो र तराईमा डुबान

Trulli
ADVERTISEMENT

धनगढी । प्राकृतिक सम्पदाको दोहन र उत्खनन‍्ले निम्त्याउने समस्या वर्षातको समयमा देखिने गरेको छ । पछिल्लो केही वर्ष यतादेखि बाढीपहिरो र बस्ती डुबानका घटनाहरू बढ्दै गएका छन् ।

विज्ञहरूका अनुसार प्राकृतिक सम्पदाको दोहन र उत्खननको प्रत्यक्ष असर मानव बस्तीमा परिरहेको छ । वनजंगलको विनाश, नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन् र दोहन गरिनाले त्यसको प्रत्यक्ष असर मानव जातिमा पर्दै गएको वातावरणविद् बताउँछन् ।

मानव जातिले आफ्नो स्वार्थपूर्तिका लागि प्राकृतिक सम्पदाको दोहन र उत्खनन् गर्नु आफैँलाई असुरक्षित हुनु हो भन्छन् विज्ञहरू । 

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अवैधरुपले प्राकृतिक सम्पदाको दोहन गरी विकास निर्माणका कार्य धमाधम भइरहेका छन् । जसको असर वर्षातको समयमा देखिने गरेको छ ।

प्राकृतिक सम्पदाको दोहन र उत्खनन्ले दैविक र प्राकृति प्रकोप निम्त्याएको छ । वातावरणीय प्रभाव मूल्यांकन नै नगरी गरिएको विकासको असर वर्षातको समयमा देखिएको छ । 

सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्ला डोटी, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डडेल्धुराका अधिकांश बस्ती बाढी र पहिरोको जोखिममा रहेका छन् भने तराई‌का कैलाली र कञ्चनपुर बाढीसँगै बस्ती डुबानको जोखिममा रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सुदूरपश्चिममा अझै केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीपहिरोको जोखिममा सयौँ बस्ती 

सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश स्थानीय तहका बस्ती पहिरोको उच्च जोखिममा छन् ।  

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले आठ स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्यम जोखिममा रहेका छन् । 

त्यस्तै, बाढीका कारण बाजुराको बडीमालिका नगरपालिका–९ सेला घाटको सिङ्गो गाउँ नै जोखिममा परेको छ । शुक्रबार रातिको वर्षाका कारण स्थानीय बिउरा खहरे खोलामा आएको  बाढीले सेला घाट बस्ती नै जोखिममा परेको हो ।

बाढीका कारण सोही गाउँका ३ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दीपक विष्टको घरमा क्षति पुगेको छ । अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय निशान्त बडुवालले जानकारी दिए । 

बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये एक सय ५० बढी मरेका छन् । सयौँ मुरी फल्ने खेतमा लगाएको धान बालीमा समेत क्षति पुगेको छ  भने सिङ्गो खेत बगरमा परिणत भएको छ । बाढी आएको थाहा पाएपछि स्थानीय राति नै घरबाट अन्यत्र सरेका थिए । 

खहरे खोलाको बाढीकै कारण साँफे–मार्तडी सडक पनि अवरुद्ध भएको छ भने, डोटीको सायल गाउँपालिकाका ८८४ घरपरिवार पनि पहिरोको उच्च जोखिममा छन् । त्यस्तै, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका पनि अधिकांश बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाइएको छ ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्वसूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

विज्ञहरूले दैविक र प्राकृतिक प्रकोपका घटनालाई नियन्त्रण र रोकथाम गर्नका लागि प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

बाढीपहिरोबाट २० लाख प्रभावित हुने अनुमान
यो वर्षको मनसुन साउनबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट देशभरका २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले विगतका वर्षभन्दा यस वर्ष सरदरमा धेरै वर्षा हुने जनाएको छ ।गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो ।

यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । 
यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।

सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

सुदूरपश्चिममा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । 

लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान स्थानीय प्रशासनले सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । 

पहिरोको जोखिममा रहेका घर तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षा धेरै भई पहिरोको त्रास भएमा नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित स्थलमा वा छिमेकीको घरमा जान जोखिमबाट टाढा रहन आग्रह गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।