close

वीरेन्द्रनगरको डुवान समस्याको दिगो समाधानमा जोड

वीरेन्द्रनगरको डुवान समस्याको दिगो समाधानमा जोड

Trulli
ADVERTISEMENT

सुर्खेत– वर्षायाम सुरु भएसँगै वीरेन्द्रनगर–९ पर्सेनीका भद्रबहादुर नेपालीलाई २०७१ साल साउनको अन्तिमसाता आएको बाढी र डुवानको यादले सताउँछ । त्यतिबेला लगातार तीन दिन परेको वर्षाले पर्सेनीका तीन जनाको मृत्यु भएको थियो भने लाखौँ रकम बराबरको सम्पत्ति क्षति भएको थियो । त्यसयताका हरेक वर्षायाममा यहाँ त्रास सिर्जना हुने गर्दछ । 

वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा रहेको यो ठाउँ निकास क्षेत्रमा पर्दछ । यहाँ वर्षा भए डुवानको त जोखिम छ नै बाढीको जोखिम पनि उत्तिकै छ । बस्ती नजिक निकास खोला छ, जसले बाढीको जोखिम निम्त्याइरहेको छ भने बस्ती डुवान क्षेत्रमा पर्दछ । 

भद्रबहादुर भन्छन्, ‘वर्षा हुन सुरु भयो भने २०७१ साल फेरि दोहोरिन्छ कि? बालबच्चालाई कसरी सुरक्षित गर्ने होला भन्ने डरैडरमा बस्नुपर्छ ।’ नजिकै सरकार भए पनि आफ्ना पीडा भने बुझ्न नसकेको उनको गुनासो छ । 

उनले भने, ‘प्रदेशको राजधानी भए पनि हाम्रा पीडा विगतदेखि नै यस्तै छ, सरकारले आशा मात्रै देखाउँछ तर काम गर्दैन । हामी कतिबेला डुबेर मर्छाँै थाहा छैन ।’ डुवानको दिगो समाधान खोजिदिन भद्रबहादुरको माग छ । 

पर्सेनीकै स्थानीय ललित नेपालीले डुबानको समस्या वर्षौँ देखि भोग्दै आएका बताउँछन् । ‘हामी त वर्षौदेखि यो समस्या भोग्दै आएका छौँ’, उनले भने, ‘वर्षायाम सुरु भयो की हामीलाई यो वर्ष कसरी ज्यान जोगाउने हो भन्ने चिन्ताले पिरोल्छ, हाम्रो कुरा कसैले सुनुवाइ गरेका छैनन्, यहाँ तटबन्ध निर्माण गरेर दिगो  समस्या समाधान गरेको आग्रह कसैले सुनेको छैन ।’ समस्या समाधानका स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने उनको माग छ । डुबानको समस्या वीरेन्द्रनगरको तल्लो क्षेत्रमा बस्ने नागरिकको पनि हो ।  

वैज्ञानिक तवरबाट समाधान खोज्न विज्ञहरूको सुझाव

वीरेन्द्रनगरका तल्लो क्षेत्रमा डुबान र बाढीको समस्याको दिगो समाधानको लागि बस्ती व्यवस्थापन वैज्ञानिक ढङ्गले गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा वन वातावरण र विपद् व्यवस्थापन अध्यापन गराइरहेका उप–प्रध्यापक खगेन्द्र रावल अहिले वीरेन्द्रनगरमा जथाभावी बस्ती बसाइएको भन्दै खोलालाई नालाका रुपमा रुपान्तरण गर्दै लैजाँदा डुवान र बाढीको समस्या समाधान बढ्दै गएको बताउँछन् । 

‘सुर्खेतको माथिल्लो क्षेत्रबाटै बस्ती व्यवस्थापन आवश्यक छ । इत्राम खोला, खोक्रे खोलालाई चेप्दै लिएर नालाजस्तो बनाइएको छ । यसकारण बाढी र डुवानको समस्या झनै निम्तिदै गएको हो’, उनले भने ।

दिगो विकासको अवधाराणालाई आत्मसाथ गरेर मात्रै विकास गर्नुपर्ने भन्दै तीन तहकै सरकारको सहकार्यमा यसको समाधान खोजिनुपर्ने उनको सुझाव छ । ‘मानिसलाई अहिले नै सबै कुरा चाहिएको छ, यही अवस्थाबाट हामी जाने हो भने सुर्खेतको अवस्था झनै खराब बन्दै जाने छ, अहिले बाँध बनाएर तत्काल समाधान खोजेर हुँदैन दिगो समाधान खोज्नुपर्छ’, उनले भने । 

वीरेन्द्रनगर नगरपालिकाले भने तल्लो क्षेत्रमा हुने डुबान समस्याको दिगो समाधानका लागि रणनीतिक योजना निर्माण गरिएको दाबी गरेको छ । यस क्षेत्रमा भइरहने डुवानको समस्या समाधानका लागि नगरपालिकाको नीति कार्यक्रममै समावेश गरी काम थालिएको नगर उपप्रमुख नीलकण्ठ खनालको दाबी छ ।

‘इत्राम, खोर्के, नेवारेलगायतका खोलाको निकासलाई फराकिलो गर्ने एउटा योजना छ भने यसको समाधान हामी एक्लैले गर्न नसकिने भएकाले प्रदेश सरकारलाई अनुरोध काम अगाडि बढाउने तयारीमा छौँ’, उनले भने ।

बर्सेनि डुबान हुने डुवानको समस्यालाई मध्यनजर गर्दै तटबन्ध निर्माणसँगै अन्य रणनीतिक योजना निर्माण गरी काम भइरहेको उपप्रमुख खनालको भनाइ छ । ‘विपद्सँग काम गर्ने तयार नेपाल संस्था पनि हामीसँग जोडिएको छ, उक्त संस्थाले यहाँको अध्ययन र नक्शाकङ्न गरिरहेको छ, त्यसपछि अझै व्यवस्थित ढङ्गले दिगो समाधान हुनेगरी काम गर्छौ’, उनले भने ।

केही दिन अगाडिको लगातार वर्षाले त्यस क्षेत्रमा डुवान सुरु भएपछि कर्णाली प्रदेशसभामा समेत यो विषयले चर्चा पाएको थियो । सांसदहरुले वीरेन्द्रनगरको दक्षिणी क्षेत्रमा भइरहने डुवानको दिगो समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय विपद् प्राधिकरणले पनि कर्णालीका नौ जिल्ला पहिरो र सुर्खेत बाढीको उच्च जोखिममा रहेको भन्दै सोही अनुसारको प्रतिकार्य योजना बनाउन यसअघि नै सुझाव दिइसकेको छ । विसं २०७१ को साउनको अन्तिममा आएको बाढी र डुबानबाट सुर्खेतभर एक सय १५ जनाको ज्यान गएको थियो भने छ सय ७५ घर क्षति हुँदा रु ११ अर्बको सम्पत्ति नष्ट भएको सरकारी तथ्याङ्क छ ।