close

आठबीसकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास

आठबीसकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि  अस्थायी आवास निर्माण थालिएको छ  ।

आठबीसकोट–१४ स्थित जामिरेकोट पूर्णगाउँमा उनीहरूलाई चिसोबाट जोगाउन सामूहिक  आवास निर्माण थालिएको हो । पहिलो चरणमा स्थानीय कच्चापदार्थ प्रयोग गरेर जामिरेकोट पूर्णगाउँ, छेपारे टोलमा दशवटा अस्थायी आवास निर्माण गर्न लागिएको  इञ्जिनीयर मानबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा भूकम्पबाट मृत्यु भएका १० घरपरिवारलाई अस्थायी आवास निर्माण थालिएको छ । दुई वटा भने निर्माण सम्पन्न भई पीडित परिवार बस्न थालिसकेका छन् । अन्य आठ अस्थायी आवास दुई दिनभित्र निर्माण सम्पन्न गरी मृतकका आफन्त परिवारलाई हस्तान्तरण गरिने इञ्जिनीयर शाहीले जानकारी दिए । भूकम्पले भत्किएका घरबाट निस्केका काठ, अन्य आवश्यक परेमा स्थानीयस्तरमै पाइने सल्लाको काठ र जस्तापाता  प्रयोग गरेर अस्थायी आवास निर्माण काम जारी रहेको उनले जानकारी दिए ।

अस्थायी आवास  निर्माण गर्दा काठलगायत आठवटा जस्तापाता प्रयोग गरेर पाँच जना परिवार बस्न मिल्ने दुई कोठा बराबरको अस्थायी आवास निर्माण गरिएको छ । नमूना घरका रुपमा निर्माण गरिएको अस्थायी आवास निर्माण गर्न  प्रत्येक अस्थायी आवासलाई ३५ हजारका दरले खर्च लाग्ने उनले जानकारी दिए । आवास निर्माण गर्दा स्थानीयवासीको पनि सहयोग रहेको उनको भनाइ छ । 

दशवटा आवास निर्माण गर्दा लाग्ने सबैखर्च पाँच जनाको व्यक्तिगत रुपमा भूकम्पपीडितलाई सहयोगबापत खर्च गरिएको शाहीले जानकारी दिए । स्थानीय कच्चापदार्थबाट निर्माण गरिएको अस्थायी आवास जोखिममुक्त र बलियो रहेको उनको भनाइ छ ।

आठबीसकोट १४ का  मृतक १३ घरपरिवारमध्ये एक घरपरिवारलाई नेकपाका महासचिव नेत्रविक्रम चन्दको नेतृत्वको समूहले अस्थायी आवास निर्माण गरिदिएको हो  भने दुई घरपरिवारलाई अन्य सहयोगी सङ्घ संस्थाले अस्थायी आवास निर्माण गरिदिएका हुन् । आठबीसकोट  १४ का १३ मृतक घरपरिवारलाई अस्थायी आवास बन्ने निश्चित भए पनि अन्य क्षति भएका घरमा अस्थायी आवास कहिले निर्माण हुन्छ भने टुङ्गो छैन ।

 स्थानीय तहबाट क्षतिको विरवण कार्यालयमा आएपछि विपद् व्यवस्थापन समितिको बैठक बस्ने र  पीडितका अस्थायी आवास निर्माणमा जुट्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुबालले जानकारी दिए ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको थियो  भने भौतिक संरचनामा क्षति पुर्‍याएको छ । अहिले अधिकांश भूकम्पपीडित त्रिपालका साहारामा  चिसो रात कटाउन बाध्य छन् ।