close

मेचीनगरकाे विवाद उत्कर्षमा : स्टकमा रहेको नदीजन्य सामग्री कसको ?

मेचीनगरकाे विवाद उत्कर्षमा : स्टकमा रहेको नदीजन्य सामग्री कसको ?

Trulli
ADVERTISEMENT

झापा- मेचीनगर नगरपालिकाको नदीजन्य पदार्थको उत्खनन्, संकलन, बिक्री र शुल्क असुलीको विवाद पछिल्लाे समय उत्कर्षमा पुगेको छ ।  नगरपालिकामा करिब दुई वर्ष अगाडिदेखि नदीजन्य सामग्री उत्खननकाे विषयमा विवाद हुँदै आएको थियो ।

सोही विवादले केही दिन अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले पालिकामा असुरक्षित महसुस गरेपछि कार्यपालिका भवनमा स्थानीय प्रशासनले  ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । 

नगरपालिकाको अनुसार शुक्रबारदेखि मंगलबार बिहानसम्म कार्यपालिका भवनमा प्रहरी खटाइएको थियो । हाल प्रमुख प्रशासकीय अधिकृत काठमाडौँमा आएसँगै प्रहरीलाई कार्यपालिका भवनबाट हटाइएको छ । नगरपालिकाका वडाध्यक्ष र नगरप्रमुखबाट असुरक्षित महसुस भएपछि जिल्ला प्रशासन कार्यालय हुँदै प्लेनमार्फत काठमाडौँमा आएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए । 

मंगलबार बिहान पालिकाखबरले उनीसँग टेलिफोनमार्फत गरेको कुराकानीमा उनले भने,  'वडाध्यक्षसहित मेयरसाब भित्र पसेपछि असुरक्षित महसुस गरेर म प्रहरीको स्कर्टिङमा जिल्ला प्रशासन कार्यालय, झापामा पुगेँ ।  सहायक प्रमुख जिल्ला अधिकारीसँग म आफैँ साक्षी बसेर आदेश लिएर काठमाडौँं आएको छु ।’

कार्यालयका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलाले उनीप्रतिको ‘रेस्पोन्स कोल्ड’ रहेको उनको भनाइ छ । प्रजिअले आफूलाई मेयरसँग छलफल गराउने,  कार्यालयमा हाजिरी  गराउने र कुनै पत्र लेखाउन नमानेको उनको आरोप छ । कार्यालयले पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न नसकेपछि  आफू सिधैँ मन्त्रालयमा पुगेको रेग्मीको भनाइ छ । 

के थियो पालिकामा विवादको विषय ?
मेचीनगर नगरपालिकामा मेची, निन्दा, टिमाई र हंडिया नदी छन् । सबै खोलाको नदीजन्य सामग्री उत्खनन्को लागि नगरपालिकाले एकै पटक ठेक्का लगाउँदै आएको थियो । 

तर ०७९ मा नयाँ कार्यकालको लागि जनप्रतिनिधि आएसँगै खोला उत्खनन् कार्यलाई रोकेको थियो । नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रतीले खोलाको बहाव र क्षति न्यूनीकरणको लागि उत्खनन् कार्य रोक लगाएको पालिकाखबरलाई बताइन् । उनले भनिन्, ‘खोलाको बहाब हेरेर एआइईको रिर्पोट अनुसार रोक लगाएको हो ।’

नगरपालिकाले गत वर्ष हंडिया र टिमाई नदीमा मात्रै ठेक्का लगाएको थियो । गत वर्ष केही खोलामा ठेक्का लागे पनि केहीमा नलागेको उनले बताइन् । चालु आर्थिक वर्ष असोज १ गतेदेखि ठेक्का कार्यक्रम खोल्नुपर्ने उनले सुनाइन् ।

चालु आवको लागि नगरपालिकाले नदीजन्य सामग्री उत्खननलाई भन्दा पनि स्टकमा रहेको सामग्री निकासीको लागि नगरपालिकाले ठेक्का लगाउन खोजेको उनले बताइन् । सोहीको लागि नगरपालिकाले तीन पटकसम्म सूचना जारी गरे पनि कुनै आवेदन परेन । 

‘पहिला उत्खनन् गरेको सामग्री हाल स्टकमा छन् । सो स्टक प्रमाणित गरेर राजस्व बुझेर पनि उहाँहरुले सो सामग्री उठाउन पाउनु भएको छैन,’ उनले भनिन् । ठेक्काको परिणाम हेरेर सो अनुरुपको सामग्री निकासी गर्न दिने र बाँकी पालिकाले जफत गर्ने गरी प्रक्रिया अगाडि बढाएको उनले सुनाइन् । 

नगरपालिकामा स्टक प्रमाणीकरण गरिसकेको र अनुगमन गरेर स्वीकृत गरिसके पनि कर्मचारीले सो कार्यलाई मिल्दैन भनेर रोक लगाएको उनले बताइन् । ‘यसले मेचीनगरमा स्टक रहेको सामग्रीको राजस्व तिरेर पनि उठाउन पाइदैँन भन्ने नकरात्मक सन्देश प्रवाह भयो । त्यसको असर अहिले खोलामा ठेक्का लागेन,’ उनले भनिन्, ‘ठेक्का नलागेकोले खोलामा उत्खनन् दिने कुरै भएन ।’

नगर उपप्रमुखले यसो भने पनि  'ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ७ को उपदफा ५ मा  गाउँपालिका वा नगरपालिकाले लगाएको ठेक्काअन्तर्गत आर्थिक वर्षको अन्त्यमा नदी किनारा तथा वन क्षेत्रमा भण्डारण गरी राखेको नदीजन्य पदार्थ जफत गरी लिलाम बिक्री गर्ने व्यवस्था सम्बन्धित गाउँपालिका वा नगरपालिकाले मिलाउनु पर्ने' व्यवस्था छ ।

नगर उपप्रमुखले यसो भने पनि  'ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ७ को उपदफा ५ मा  गाउँपालिका वा नगरपालिकाले लगाएको ठेक्काअन्तर्गत आर्थिक वर्षको अन्त्यमा नदी किनारा तथा वन क्षेत्रमा भण्डारण गरी राखेको नदीजन्य पदार्थ जफत गरी लिलाम बिक्री गर्ने व्यवस्था सम्बन्धित गाउँपालिका वा नगरपालिकाले मिलाउनु पर्ने' व्यवस्था छ । 

उनका अनुसार प्रचलित कानूनले ट्याक्टरको ५० हजार र जेसिबीको एक लाख रुपैयाँसम्म जरिवाना तोकेर पठाउने गरेको छ  । साे जरिवाना पनि सर्वसाधारणले आफ्नो स्टकको सामग्री लिएर हिड्दा पनि गैरकानूनी हुने, पक्राउ खाने र जरिवाना तिर्न नसक्ने अवस्थाले गर्दा खोलाहरु अहिले ठप्प रहेको उनको भनाइ छ ।

समाधान निकाल्न खोज्दा बढ्याे विवाद
नगरपालिकाले खोला तथा नदीबाट ढुंगा तथा बालुवा उत्खननको लागि तीन पटकसम्म सूचना आव्हान गरे पनि कुनै आवेदन नपरेको जनाइएको छ । आवेदन नपरे पनि नगरस्तरीय राजस्व परामर्शको समितिबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री गरी कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयबारे छलफल गर्न लागेको थियो ।

शुक्रबार बिहान करिब साढे १० बजे चलिरहेको छलफलमा नदीजन्य पदार्थको ठेक्का लिएका राजकुमार थापा र प्रभात राई उपस्थित भएका थिए । छलफलकै क्रममा थापा र राईले नगरप्रमुखको अगाडि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई अपशव्द र अभद्र व्यवहार गरेका थिए । सोही क्रममा नगरपालिकाका नगरप्रहरीसहितको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुनबाट बचाएका थिए । 

थापा र राईले नगरप्रमुखको अगाडि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई अपशव्द र अभद्र व्यवहार गरेका थिए ।

११ गते नै नदीजन्य सामग्री उत्खननकाे प्रक्रिया टुंगिए पनि १२ गतेदेखि हर्कत सुरु भएको रेग्मी बताउँछन् ।  'डन' शैलीमा आएर हर्कत गर्न खोज्दा पनि नगरप्रहरीले हतार हतार ढोका लगाएर आफू भागेर आफ्नो चेम्बरमा पुगेको उनले सुनाए । ‘करिब आधा घण्टामा दुई जना इन्स्पेक्टरसहित २०/२५ जना प्रहरी आएर सेकुरेटीमा मेरो कार्यकक्षमा बसेँ,’ उनले भने । 

हाकिमसाबको अधैर्यपनले समस्या भयो : नगरप्रमुख बुढाथोकी
नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवारीपनले सो समस्या उत्पन्न भएको आरोप लगाएका छन् । विषयवस्तु सामान्य हुँदाहुँदै अधिकृत रेग्मीले असामान्य अवस्था सृजना गराएको उनको आरोप छ । 

'प्रमुख प्रशासकीय अधिकृतको स्वभाव शैली अलि उत्तेजित र अधैर्यपूर्वक प्रस्तुत हुनुभयो, केही मान्छे देख्ने बित्तिकै आक्रोसित बन्नुभयो । र, असहज परिस्थिति सृजना भयो,’ उनले पालिकाखबरसँग भने ।

आफूले प्रमुख प्रशासकीय अधिकृतलाई अनावश्यक विवाद नगर्न, धैर्यतापूर्वक काम गर्न र जनताको अपेक्षा पूरा गर्न अनुरोध गर्दै आए पनि कुनै सुनुवाइ नभएको नगरप्रमुख बुढाथोकीले पालिकाखबरसँग गुनासो गरे । 

‘विगत दुई वर्षदेखि नगरपालिकामा नदीजन्य सामग्री उत्खनन्को कार्य भएको छैन । केही नदीजन्य सामग्री स्टकको रुपमा रहेका छन्,’ उनले भने, ‘ती सामग्री वैधानिक भए कानुनी रुपमा उठाउन दिनुपर्ने हाम्रो कुरा हो । अवैधानिक भए जफत गरी काम गर्नु पर्छ भन्ने कुरा हो ।’

राज्यको स्थापित कानूनद्धारा प्रक्रिया पूरा गरेर जानुपर्ने मान्यतामा आफू अहिले पनि अडिग रहेको उनले सुनाए । केही कमजोरीबाट सो सामग्री स्टक रहेको र  सो सामग्रीको व्यवस्थापनको लागि पालिकाले ध्यान दिएको उनले बताए । 

अभियुक्तको रुपमा रहेका व्यक्ति नगरप्रमुखसँग गोप्य कोठामा छलफल गरिरहेकोले आफूले केही शब्द बाेलेकाे प्रमुख प्रशासकीय अधिकृत टेेेककुमार रेग्मीले सुनाए । ‘सिडियो साबले पक्राउ पूर्जी जारी गरेर प्रक्राउ पर्नुपर्ने व्यक्ति राजु कार्की मेयरसावसँग गोप्य कोठामा अफिस समयमा छलफल गरिरहनु भएको रहेछ,’ उनले भने, ‘मैले अनुमति लिन खोज्दा कार्कीजीले नै ढोका खोल्नुभयो । 'मेयरसाब यो भएन' भने मैले । उहाँ आफैँ एकैचोटी आवेगमा आउनुभयो ।’

विवादको समाधान गर्न नगरपालिकालाई सहयोग गर्ने छौँ : प्रजिअ बास्तोला

मेचीनगरमा नदिजन्य सामग्री ढुंगा बालुवा उत्खनन् गर्नेबारे दुई वर्षदेखिको विवाद नै मूल समस्या रहेकाे जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । दुई वर्षअघि देखि स्टकमा रहेको नदीजन्य सामग्रीमा ठेकेदार र नगरपालिकाले आ-आफ्नो दावी गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

दुई वर्षअघि देखि स्टकमा रहेको नदीजन्य सामग्रीमा ठेकेदार र नगरपालिकाले आ-आफ्नो दावी गर्दै आएको प्रमुख जिल्ला अधिकारीले पालिकाखबरलाई सुनाए 

सो विवादको समाधानको लागि कार्यालयले भन्दा पनि नगरपालिका र बोर्डले समाधानको विषय निकाल्नु पर्ने उनको भनाइ छ । ‘स्टक सामग्रीमा ठेकेदारको लगानी भएकाले उनीहरूको दाबी छ ।  ऐन नियमअनुसार समयभित्र नउठाएसम्म त्यो त जसरी भए पनि उठाउनु पर्ने ऐन नियमभित्र छ,’ उनले भने, ‘त्यो त नगरसभा र नगर कार्यपालिकाले अध्ययन गरेर वैध वा अवैध पहिचान गर्नुपर्‍यो ।’ 

आफूहरूले नदीजन्य सामग्री चोर्न वा अवतरण हुन नदिनको लागि सुरक्षा दिने काम गरिरहेको उनले सुनाए । उनले भने, ‘सो कुरामा हाम्रो सहयोग त भइहाल्छ । तर नगरपालिकाको राजस्वको विषय पालिका आफैँले उचित निर्णय गर्नुपर्छ ।’ 

नगरपालिकामा ठेकेदारले कर्मचारी र कर्मचारीले ठेकेदारलाई दुर्व्यवहार गर्न खोज्न, भनाभन गर्न खोज्ने कार्य पहिलेदेखि नै हुँदै आएकाेले अलि तनावग्रस्त अवस्था रहेको उनको बुझाइ छ । आफूले नगरप्रमुखलाई विवादलाई सुधार्ने बाटोतर्फ लैजान अनुरोध गरेको उनले सुनाए।

डेढ वर्षको कार्यकालमा चारजना प्रमुख प्रशासकीय अधिकृत

मेचीनगर नगरपालिकामा नवनिर्वाचित आएसँगै चारजना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीका अनुसार नगरप्रमुख आफ्नो कुरामा अडान लिन नसक्ने, आदेश मज्जाले कार्यान्वयन गर्न नसक्ने, शंकालु स्वभावको भएकोले प्रमुख प्रशासकीय अधिकृत पनि फेरिरहेको हो ।

हाकिमहरू पाँच महिनाभन्दा बढी टिक्न नसक्ने उनले सुनाए । साथै कर्मचारीमा प्रोत्साहन सम्बन्धि कुनै तालिम नदिएकाे उनले बताए । ‘कर्मचारीहरुलाई दुई वर्षदेखि सामान्य तालिम पनि दिएको छैन । कर्मचारीलाई काम गर्ने स्कील पनि कमजोर छ,’  उनले भने, ‘कर्मचारीको कुनै मर्यादा पनि छैन राजनीतिक दलहरुबाट । कर्मचारी अमर्यादित भए पनि सक्ने काम गर्दै आएका छन् ।’

तर आफ्नो सरुवाबारे कुनै जानकारी नभएकाले उनले सुनाए । आफ्नोभन्दा राज्यको इच्छाअनुसार सरुवा हुने उनको भनाइ छ ।

उता नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत रेग्मीको आरोपमा मौन छन् । तर आफूले हाकिमसाब 'टिकूँन' भन्ने चाहे पनि समय र परिस्थितीले सरुवा हुने गरेको उनले बताए ।

नगरप्रमुख बुढाथोकीले मन्त्रालयमा नगरपालिकाको घटनाक्रम बारेमा जानकारी गराइसकेको र सरकारले केही व्यवस्था गर्ने उनको भनाइ छ । ‘यहाँबाट गइसकेपछि सरकारबाट केही व्यवस्था गर्नुपर्यो होला नि ?’ उनले भने, ‘सरकारसँग स्वभाविक रुपमा अर्को कर्मचारीको अपेक्षा र आग्रह गछौँ ।’

आफ्नो कार्यवधि छोटो मात्रै भएकाले सोही कर्मचारीलाई कुर्न नसक्ने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत लामो समय बिदा बसेकोले करिब ३००/४०० जना सेवाग्राहीको भुक्तानी रोकिएको उनले बताए ।  प्रमुख प्रशासकीय अधिकृत रेग्मी लामाे बिदामा बस्ने र सेवाग्राही समक्ष सही तरिकाले प्रस्तुत नहुने उनले सुनाए । 

साथै, आफूहरूले कर्मचारीसँग अभद्र व्यवहार, कुनै सर्त, कुनै अपेक्षा नराखेकाे उनले बताए । उनले भने, 'अभद्र व्यवहार, कुनै सर्त, कुनै अपेक्षा केही छैन । हामीले जनताको काम गरिदिने अपेक्षाबाहेक कुनै एक इन्चको अपेक्षा गरेका छैनौँ ।'