close

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग  छलफल

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग  छलफल

Trulli
ADVERTISEMENT

रुपन्देही ।  बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ ।  बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने नगरप्रमुख खेलराज पाण्डेयले बताए । जसअनुसार सोमबार कानून व्यवसायी, इन्जिनियर र चिकित्सकहरुसँग छलफल गरिएको छ ।

 चैत १ गते धार्मिक संघसंस्थाका प्रमुखहरुसँग, चैत २ गते महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षहरुसँग छलफल गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए  ।  यस्तै, चैत ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघसंस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु, हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तुलसा अर्यालले बताए । सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए ।

आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्न सुझाव
सोमबार आयोजित छलफल कार्यक्रममा बोल्ने विज्ञ तथा सरोकारवालाहरुले बुटवलबासीको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका छन् । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिएको, दोहोरो योजनाका कारण जनतामा अलमल भएकोले स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीविहरुको रचनात्मक सुझावको अपेक्षा राखेको बताए । ‘हामी बुटवललाई साझा सहरका रुपमा देशकै अगुवा सहर बनाउन चाहन्छौं, उनले भने (यसमा तपाइँ र तपाइँहरुजस्ता धेरै बुद्धिजीवि र अनुभवी साथीहरुको साथ सहयोग जरुरी छ ।’

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासमा सबै क्षेत्रको उत्तिकै साथ जरुरी रहेको बताए । उनले बुद्धिजीविका सुझाव सल्लाहलाई समेत समेट्दै बुटवलको विकासमा जुट्ने बताए।  कार्यक्रममा कानून व्यवसायी, इन्जिनियर र चिकित्साक्षेत्रका व्यक्तिहरुले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रुपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।