close

चाँगुनारायणकाे एक वर्ष: ५७ दशमलब ३१ प्रतिशत खर्च

चाँगुनारायणकाे एक वर्ष: ५७ दशमलब ३१ प्रतिशत खर्च

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षमा करिब ५८ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेटमध्ये ५७ दशमलब ३१ प्रतिशत बजेट खर्च गरेको हाे । 

 जनप्रतिनिधिको एक वर्ष पुरा भएको अवसर तथा आर्थिक वर्ष २०८०/०८१ बजेट निर्माणको लागि सुझाव संकलनका लागि बुधबार तपादम्फोस्थित सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाले जेठ १५ गतेसम्म सो खर्च गरेको जनाएको छ । नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा विनियोजित २ अर्ब १० करोड ५० लाख ५९ हजार २ सय मध्ये एक अर्ब २० करोड ६५ लाख ८५ हजार ६८० रुपैंया खर्च भएको छ ।

चालू आवमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा बजारीकरण, व्यवसाय प्रवद्र्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । उनले पालिकाभित्रका स्थानीय वासिन्दाको माग र आवश्यकतालाई मध्येनजर गथरी विकास निर्माणको कार्य गर्दै आएको जानकारी दिए । 

नगरपालिकाले चालू आवमा ६८ दशमलब ६९ प्रतिशत राजस्व संकलन गरेको छ । नगरपालिकाले जेठ १४ गतेसम्म सो राजवस्व संकलन गरेको हो । चालू आवमा  २६ करोड २६ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्यमध्ये नगरपालिकाले १८ करोड २ लाख संकलन गरेको जनाएको छ । 

नगरप्रमुख खत्रीकाले आफूलगायतको जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै वर्षाको कारण मनोहरा खोलामा आएको बाढीले गरेको कटान नियन्त्रण र क्षति न्यूनीकरण, तत्काल सञ्चालनमा रहेका पूर्वाधार निर्माण तथा अन्य विकासका कार्य सम्पन्न गरेको दावी गरे । उनले एक वर्षको कार्यकालमा ५ वटा ऐन (संशोधनसमेत) तथा १० वटा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

नगरपालिकाभित्र एक वर्षमा  ५ दशमलव ८ किलोमिटर। सडक कालोपत्रे गरिएको, ६दशमलव ४५ किलोमिटर सडक बिस्तार र स्तरोन्नति गरिएको छ ।  ५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको जनाएको छ । चाँगुनारायण मन्दिरमा पुग्न अपाङ्गमैत्री पदमार्ग निर्माण सुरु भएको छ।त्यस्तै नगरपालिकाको प्रशासकीय भवन र वडा नंम्बर १ को कार्यालय भवन निर्माण सम्पन्न तथा वडा नम्बर ५ को भवन निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।   खानेपानीको सहजताका लागि ३ स्थानमा डिपबोरिङ्ग गरिएको तथा ३ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण भएको छ।

उनका अनुसार नगरकोट भ्रमण वर्ष २०८२/०८३ को घोषणा गरी आवश्यक तयारी भइरहेको छ । नगरकोट क्षेत्रको पर्यटन प्रबर्द्धन र दिगो पर्यटन विकासका लागि मण्डनदेउपुर नगरपालिका,  शंखरापुर नगरपालिका र बनेपा नगरपालिकाको लागत साझेदारीमा बृहत्तर नगरकोट क्षेत्रको गुरुयोजना निर्माणको थालनी भएको उनले बताए । 

 नगरबासीका लागि स्वास्थ्य बीमा, कृषकहरुको प्रोत्साहनका लागि पशु बीमाको व्यवस्था मिलाइएको, गुणस्तरीय शिक्षाको प्रबर्द्धनका लागि शिक्षक शिक्षण सहायता कार्यक्रमको सुरुवात गरिएको, विद्यालय खाजा खर्चमा वृद्धि, नगरबासीलाई निःशूल्क रगतको व्यवस्था गरिएको छ।

उनले नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकममा कटौती भएको तथा आन्तरिक श्रोतमा समेत संकूचन भएकाेले लक्ष्यअनूरुप कार्यसम्पादन गर्न नसकेको बताए । उनले स्थानीय बासिन्दासँग गरेकाे प्रतिबद्धता र उपलब्ध श्रोत साधनको उच्चतम सदुपयोग गर्दै  गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य प्रणालिको सुनिश्चितमा काम गर्दै आएकाे जानकारी दिए । साेका लागि वैज्ञानिक आधारसहितको कार्ययोजना बनिसकेको उनकाे जिकिर छ ।