close

चैत मसान्तमै सम्पन्न हाेला त मालारानीको योजना ?

चैत मसान्तमै सम्पन्न हाेला त मालारानीको योजना ?

Trulli
ADVERTISEMENT

अर्घाखाँची - मालारानी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को योजना कार्यान्वयनको लागि कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । विकास  निर्माणका काम प्रभावकारी रुपमा बढाउनका लागि कार्ययोजना बनाउने निर्णय गरेको हो । 

आवको अन्तिममा मात्र कार्यप्रगति देखिने परम्परालाई तोड्दै चैत्र मसान्त भित्र सबै योजनाको काम सकाउने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्राईले पालिकाखबरलाई बताए ।  ‘आर्थिक बर्ष २०८०/०८१ को लागि विनियोजन भएको योजनाहरु कार्यन्वयन गर्नको लागि कार्यतालिका बनाएर अगाडि बढेका छौँ,’ उनले भने, ‘असोज मसान्तसम्म वडास्तरीय योजनाहरु सम्झौता गराउन जनप्रतिनिधि र कर्मचारीसंग बसेर कार्यतालिका बनाएका छौँ । चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ ।’

कार्यतालिका अनुसार योजनाको काम सम्पन्न भए नभएको बारेमा समिक्षा गर्ने योजनाहरुको अनुगमन पश्चात् कार्यपालिकाको बैठकमा प्रतिवेदन पेश गर्ने गरेको पालिका उपाध्यक्ष दिपा पोख्रेलले पालिकाखबरलाई बताइन् । ‘हामीले बनाएको कार्यतालिका अनुसार काम नभएमा समिक्षा गर्ने र अनुगमनको प्रतिवेदन माथि घनिभुत छलफलसमेत गर्ने गरेका छौँ । असारमा हुने विकासलाई रोक्न सबै लाग्न जरुरी छ,’ उनले भनिन् । 

पालिकाले चालू आवको लागि टेण्डरबाट काम गर्ने योजनाहरुको सूचना प्रकाशन गरी ठेक्का प्रक्रिया अगाडि बढेको प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कंडेलले बताए । ‘हामीले पालिकाबासीलाई सरल र सहज रुपमा सेवा दिदै निर्माण गरेको कार्यतालिका अनुसार विकास निर्माणका कार्य सम्पन्न गर्नेछौँ । टेण्डरमार्फत गर्ने आयोजनाहरु सबै अगाडि बढेका छन । उपभोक्ता मार्फत सम्पन्न हुने योजनाहरुको समझौताको प्रक्रियामा गएका छन्,’ उनले भने । 

योजना कार्यान्वयनको लागि उपभोक्ता समितिलाई योजना कार्यन्वयन पुस्तक उपलब्ध गराई वडास्तरमै सम्झौता हुने पालिकाका योजना अधिकृत नेत्रप्रसाद खनालले जानकारी दिए । ‘उपभोक्ता समितिमा रहेर काम गर्ने पालिकाबासीलाई सहज होस भनेर यस पटक योजना कार्यन्वयनको लागि बुक नै उपल्बध गराएका छाँै । जसमा छुट्ै फाईल खडा नगरी सोहीमै उपभोक्ता भेलादेखि सम्झौता,  भुक्तानी मागसम्म एउटै बुकमा गर्न सक्ने बनाएका छाँै । यसलाई वडास्तरमा नै पुगेर सम्झौता गर्ने गरी कार्यतालिका बनाएका छौ,’ उनले भने । 

उपभोक्ता समितिका पदाधिकारीहरुलाई लेखा व्यवस्थापन तालिम समेत दिएर श्रेष्ता कायम गर्न अभिमुखीकरण गर्ने गरेको पालिकाका लेखा अधिकृत खुबीराम पन्थीले बताए । ‘उपभोक्ताले योजना सम्पन्न गरेर भुक्तानीको लागि फाईल पेश गर्दा सहज होस भनेर वडास्तरमा पुगेर अभिमुखीकरण गर्ने गरी कार्ययोजना  बनाएका छौँ ।’

वडास्तरीय योजनाहरुको लागत अनुमान तयार गर्नको लागि बिदाको दिन पनि प्राविधिक फिल्डमा खटिने प्राविधिक हरिश चन्द्र पाण्डेले बताए । ‘प्राविधिक जनशक्ति कमी छ हामीले ९ वटै वडामा वडा विभाजन गरेर बिदाको दिन पनि काम गर्ने गरी कामको विभाजन गरेका छौँ । ’