close

पोखरा र चीनको कान्जो नगरबीच दुइपक्षीय सहयाेग सम्झाैता

पोखरा र चीनको कान्जो नगरबीच दुइपक्षीय सहयाेग सम्झाैता

Trulli
ADVERTISEMENT

कास्की - पोखरा महानगरपालिका र चीनको कान्जो नगरबीच दुइपक्षीय मैत्रीपूर्ण सहयोग आदानप्रदान सम्बन्धी समझदारी भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र चीनको कान्जो नगरपालिकाका मेयर जेन वेनमिङ्ले सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 
 
समझदारी अनुसार दुवै नगरबिच स्थानीय व्यापार, व्यवसाय र व्यापारिक समूहको सूचना आदानप्रदानसहित आवश्यक समन्वय तथा छलफललाई प्रोत्साहन गरिने प्रमुख आचार्यले बताए । पर्यटन र कृषिको आधुनिकीकरण जस्ता क्षेत्रहरूमा हुने सहयोगलाई थप प्रभावकारी तथा उच्च गुणस्तरको विकास गर्न सहकार्य गरिने उनले जनाएका छन् । साथै दुवै नगरहरू बिच स्थानीय अर्थतन्त्रको विकासका लागि व्यावसायिक शिक्षाका क्षेत्रमा सहयोगका अवसर र परियोजनाहरूको खोजी गरिनेछन् ।

यस प्रकारको समझदारीले पोखराको अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापित गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । 'यसअघि पनि विभिन्न कालखण्डहरूमा चीनका विभिन्न नगरहरूसँग पोखराको भगिनी सम्बन्ध कायम गरिएको छ,' प्रमुख आचार्यले भने, 'कान्जो नगरसँगको समझदारीले नयाँ इट्टा थपिएको छ, यसले दुई नगरहरू बिच सांस्कृतिक आदान प्रदान सहित विकासका नयाँ पहल तथा प्रयासहरूमा साझेदारीको बाटो खोल्ने छ ।' समझदारीले दुई देशका दुई नगरहरू बिच विश्वासको नयाँ स्तम्भ खडा गरिदिएको प्रमुख आचार्यले बताए ।

नेपालको पर्यटकीय हवका रूपमा विकास भइरहेको पोखरा महानगरसँग सम्बन्ध कायम गर्न पाउँदा आफूहरूलाई निकै खुसी लागेको चिनियाँ पक्षले बताएको छ । समझदारीले पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । 

सो क्रममा चीनको च्याङ्सी प्रदेश र बाग्मती प्रदेश बिच पनि समझदारी भएको छ । कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, बाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतको उपस्थिति रहेको थियो ।