close

पालिकाभित्रकै स्रोतको रोयल्टी दाबी गर्दै गाउँपालिका अध्यक्ष

पालिकाभित्रकै स्रोतको रोयल्टी दाबी गर्दै गाउँपालिका अध्यक्ष

Trulli
ADVERTISEMENT

म्याग्दी- अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेश गरिएको जानकारी दिए । “म्याग्दीको अन्नपूर्ण–४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्कीको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ”, उनले भने, “यहाँको गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट वञ्चित भएकाले तथ्यसहित दाबी पेश गरिएको हो ।” 

गत वर्षको वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँच समूहका ५४ जनाले एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाल लगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुरलाई तीन तहको सरकारलाई बाँडफाँट गर्दै आएको छ । 

पछिल्लोपटक अन्नपूर्ण गाउँपालिकाले रोयल्टीको दाबी गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीको टोलीले स्थलगत अध्ययन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । 

“राज्य पुनःसंरचनाका क्रममा जिल्ला तहबाट भएको सिफारिसअनुसार यो गाउँपालिकाको नामकरण अन्नपूर्ण हिमालबाट भएको थियो”, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले भने, “राज्यका निकायबाट प्राप्त तथ्याङ्कको आधारमा रोयल्टीको बाँडफाँट हुने गर्छ । हामीले प्रयोग गरेका तथ्याङ्कमा समस्या रहेछ भने त्यसलाई सच्चाउन सकिन्छ ।”

अन्नपूर्ण आरोहरणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दाबीलाई तथ्य र तथ्याङ्कसहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने आयोगले जनाएको छ ।