close

हरिपुर्वामा ६ महिनापछि कार्यपालिका बैठक : नगरसभा होला त ?

हरिपुर्वामा ६ महिनापछि कार्यपालिका बैठक : नगरसभा होला त ?

Trulli
ADVERTISEMENT

सर्लाही– हरिपुर्वा नगरपालिकामा चालु आर्थिक वर्षमा पहिलो पटक कार्यपालिकाको बैठक बसेको छ । करिब ६ महिनापछि नगरपालिकामा कार्यपालिकाको बैठक बसेको हो । 

यसअघि असार २० गते नगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो । नगरपालिकामा हालसम्म नगरसभासमेत हुन सकेको छैन । नगरसभा हुन नसकेकाले पालिकाको काम शून्य रहेको नगरप्रमुख विनोदकुमार शाहले पालिकाखबरलाई बताए । 

पुस १२ गते उपसचिव शम्भुप्रसाद साह पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएसँगै बुधबार नगर कार्यपालिकाको बैठक बसेको हो । नगरप्रमुख शाहले भने, ‘प्रमुख प्रशासकीय अधिकृत सर नयाँ भएकाले बुधबार परिचयात्मक कार्यक्रम गरियो । नगरसभा बस्नको लागि कार्यक्रम तयार गर्न २३ गतेलाई फेरि कार्यपालिका बैठक बोलाएका छौँ ।’

कार्यपालिका बैठकमा बाँके–सङ्ग्रामपुर सडक खण्ड अन्तर्गत हरिपूर्वा नगर क्षेत्रभित्र पर्ने सडकको ‘साइड क्लियर’ गर्ने, प्रहरी चौकीलाई जग्गादाताले उपलब्ध गराएको जग्गा ग्रहण गर्ने, गत आर्थिक वर्ष २०७९/०८० को हरहिसाब सार्वजनिक गर्ने लगायतका विषयमा छलफल भएको छ ।

हालसम्म विभिन्न विवाद र प्रमुख प्रशासकीय अधिकृतको अभावले नगरपालिकाको काम रोकिएपनि अब नगरसभा गरेर पालिकाको रोकिएको काम सुरु हुने नगरप्रमुख शाहले विश्वास व्यक्त गरे ।