close

बुटवल उपमहानगरपालिकाकाे मातहतमा जितगढी किल्ला

बुटवल उपमहानगरपालिकाकाे मातहतमा जितगढी किल्ला

Trulli
ADVERTISEMENT

रुपन्देही– नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको किल्ला संरक्षण र पुन निर्माणपश्चात् नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गरेका हुन्। गरुड दल गणले संरक्षण र पुननिर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालन अब बुटवल उपमहानगरपालिकाले गर्नेछ।

किल्ला हस्तान्तरणपश्चात् नगर प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताए। उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए।

‘यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु,’ प्रमुख पाण्डेयले भने।

प्रमुख पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गरे।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोंचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन्। उनले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि संघ र प्रदेश सरकारको साथ आवश्यक रहेको बताइन्।

कार्यक्रममा बोल्दै इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताए।

बुटवल नगरपालिकाको वडा नं १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ। जितगढीमा वि सं १८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ।