close

धौलागिरीको वडामै योजना सम्झौता

धौलागिरीको वडामै योजना सम्झौता

Trulli
ADVERTISEMENT

म्याग्दी– भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । 

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिले झन्झट बेहोर्नु नपर्नाका साथै समय र खर्च बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनासम्म पुगेर योजना सम्झौता गर्न अपायक परेकाले वडा नं ६ मराङ र वडा नं ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्ष्य गरेर बिहीबारदेखि घुम्ती शिविर सञ्चालन गरिएको हो । 

मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाका लागि वडा कार्यालयमै सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । शुक्रबार पनि मल्कवाङको वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरेर योजना सम्झौता गरिएको छ । 

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय बचत र झन्झट हट्नाका साथै व्ययभार पनि घटेको डाँफे युवा क्लबको खेलमैदान निर्माण समितिका अध्यक्ष खिमबहादुर गर्बुजाले बताए । ‘मुनासम्म पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्छ’, उनले भने, ‘वटामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।’ 

मराङ र मल्कवाङका बासिन्दालाई धौलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । 

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा उक्त बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको नेतृत्वमा योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, दीपेन्द्र थापा र रोमी भण्डारीको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो । 

वडाध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको थियो । प्राविधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गर्नुका साथै पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।  

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । आवश्यकता र मागको आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जाने तयारी गरिएकोे उनले जानकारी दिए । 

ठूला योजनामा ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । यस वर्ष उक्त गाउँपालिकाले एक सय १६ वटा योजना कार्यान्वयन गर्दैछ । वडामा पुगेको गाउँपालिकाको टोलीले स्थानीयवासीसँग छलफल, विकास योजनाको अनुगमन पनि गरेको छ ।