close

विभिन्न संरचना बनाउन जग्गा दान गर्ने मनकारी खोज्दै भिमसेनथापा

विभिन्न संरचना बनाउन जग्गा दान गर्ने मनकारी खोज्दै भिमसेनथापा

Trulli
ADVERTISEMENT

गोरखा– भिमसेनथापा गाउँपालिकाले पालिकाको अत्यावश्यक पुर्वाधार निर्माणका लागि जग्गा दान गर्न स्थानीयलाई आह्वान गरेको छ । पालिकाको स्वामित्वमा जग्गा नभएकाले पूर्वाधार निर्माणका काम रोकिएपछि नि:शुल्क जग्गा उपलब्ध गराउन बिहीबार र एक सूचना जारी गर्दै आग्रह गरेको हो । 

पालिकाभित्र हेलिप्याड, बसपार्क, पानी, खेलमैदान, समाधिस्थल र ल्याण्ड फिल्ड साइड निर्माण लगायतका निर्माण कार्यका लागि  गाउँपालिकाले जग्गादान खोजेको हो । सार्वजनिक जग्गाको रुपमा पालिकामा वनको जग्गा मात्र रहेको गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जारा (अक्कल)ले बताए । कानुनतः वनको जग्गा स्थानीय सरकारले उपभोग गर्न नपाउने व्यवस्था भएकाले समस्या रहेको उनले बताए । उनले भने, ‘एउटा खानेपानीको ट्यांकी बनाउन, हेलिप्याड बनाउन पनि हामीसँग जग्गा छैन । विकासका लागि जग्गा बाधक बनिरहेको छ ।’  

गाउँपालिकाले जग्गाको वर्गीकरण भने गरिरहेको उनले बताए । पालिकासँग भएको जग्गामा पनि वनको स्वामित्व पर्ने विवाद परिरहने भएकाले प्रयोगमा समस्या भएको छ । विकासका लागि ल्याण्ड पुलिङ गर्न खोजेको र त्यसका लागि पनि जनताको सहयोग खासै नभएकाले योजना असफल भएको उनले सुनाए । 

स्थानीय स्तरमा विकास गर्न जग्गा दान नै गर्नुपर्ने अवस्था आएकाले जग्गा दानको लागि गाउँपालिकाले आह्वान गरेको अध्यक्ष बन्जराले पालिकाखबरसँग बताए । ‘अब जहाँ जग्गा उपलब्ध हुन्छ । त्यहीँ विकास गछौँ ।’ उनले थपे, ‘पालिकाका सबै वडामा कम्तिमा एउटा बसपार्क चाहिन्छ । मोटर हिँड्ने बाटो छ तर पालिकामा बसपार्क नै छैन ।’ 

गत आर्थिक वर्षसम्म गाउँपालिकाले जग्गा खरिद गरेर विकासका काम सञ्चालन गरेको थियो । तर चालु आर्थिक वर्षमा नेपाल सरकारले बजेट अभावको कारण देखाउँदै जग्गा खरिद गरेर विकास निर्माणका कार्य सञ्चालन गर्न नमिल्ने नीति लिएपछि थप समस्यामा परेको उनले बताए । 

उनले भने, ‘पहिला पालिकाले जग्गा किनेर प्रशासकीय भवन, अस्पताल, खेलमैदान बनाएका थिए । हामीले पनि तीन रोपनी जग्गा किनेर प्रशासकीय भवन बनाएका हौँ ।’