close

पुरा कार्यकाल नगरको समृद्धिमा खटिने छु : प्रमुख भण्डारी (भिडियो कुराकानी)

पुरा कार्यकाल नगरको समृद्धिमा खटिने छु : प्रमुख भण्डारी (भिडियो कुराकानी)

ADVERTISEMENT

सल्यान । सल्यान जिल्लाको सदरमुकाम खलंगामा अवस्थित शारदा नगरपालिकाका मेयर हुन्, प्रकाश भण्डारी । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भण्डारी युवा जोस जाँगर सहित निर्वाचनबाट निर्वाचित भएर शारदा नगरपालिकाको बागडोर सम्हाल्न आइपुगेका हुन् । 

नेपाली काँग्रेस सल्यानका पार्टी सचिव समेत रहेका भण्डारीले प्रविधिमैत्री शारदा नगरपालिका बनाउने अभियान अघि सारेका छन् । निर्वाचित भएदेखि नै देशैभरका स्थानीय तहले गरेका उत्कृष्ट कामहरूको अवलोकन गरेर अनुभव हासिल गर्ने मनसाय सहित देश दौडाहामा निस्किसकेका मेयर भण्डारी जसरी पनि शारदालाई देशभरकै उत्कृष्ट नगरपालिका बनाउने योजना रहेको सुनाउँछन् । 

यो नगरपालिका शारदा नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित पहाडी क्षेत्रमा अवस्थित छ  । १९८.३४ वर्ग किमी क्षेत्रफलमा फैलिएको नगरपालिकाको उत्तरमा ढौरचौर गाउँपालिका पश्चिमतर्फ बनगाड कुपिन्डे नगरपालिका, दक्षिणमा छत्रेश्वरी, त्रिवेणी र कालीमाटी गाउँपालिका तथा पूर्वमा छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिका रहेका छन् । नेपाल सरकारको मिति २०७१ वैशाख २५ गतेको निर्णयबाट सल्यान जिल्लाको तत्कालीन ७ वटा गाविसहरू खलंगा, मार्के, ह्विल्चा, कजेरी, सजैवाल टाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर शारदा नगरपालिका घोषणा गरिएको हो । शारदा नदी शारदा नगरपालिकाको मात्र नभई सल्यान जिल्लाको पनि प्रमुख नदीको रुपमा चिनिन्छ । यस नदिलाई आर्थिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिन्छ । 

शैक्षिक आधारमा यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६३ वटा शिक्षण संस्थाहरू संचालित छन् । यहाँ संचालनमा रहेका सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रुपमा बिस्तार गर्ने योजना नगर प्रमुख भण्डारीको छ । युवाहरूलाई कृषि कर्म मार्फत स्वदेशमै रोजगार बनाउने योजना अघि सारेका भण्डारीले युवामैत्री र प्रविधिमैत्री सुशासनको परिकल्पना गरेका छन् । उनी भन्छन्, ‘म बिहान ७ बजेदेखि राति ११ बजेसम्म नगरपालिकाको टिमसँग बसेर कसरी यसलाई समृद्ध बनाउन सकिन्छ भनेर लागी परेको छु, म शारदालाई समृद्ध नबनाएसम्म विश्राम लिन्न ।’  

परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमशः आधुनिक कृषि प्रणाली र जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । अधिकांश घरमा विद्युत् पुगेपनि केही सीमान्तकृत वर्गका नागरिक भने विद्युतको पहुँचभन्दा बाहिर छन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाइ हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । त्यसैले नगर प्रमुख भण्डारीले आफ्नो ५ बर्षको सम्पूर्ण समय र मेहनत पालिकाकै विकासका लागि खर्चिने योजना सहित अघि बढेका छन् ।

प्रस्तुत छ, मेयर भण्डारीसँग पालिकाखबरका लागि जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश ।