close

शून्य सहनशीलता नै मेरो मूल मन्त्र : अध्यक्ष विश्वकर्मा (भिडियो कुराकानी)

शून्य सहनशीलता नै मेरो मूल मन्त्र : अध्यक्ष विश्वकर्मा (भिडियो कुराकानी)

ADVERTISEMENT

प्युठान । प्युठान जिल्लाको सदरमुकामदेखि केही दक्षिणमा महाभारत श्रृंखलाको तल्लो भाग अनि भित्री मधेसको चुरे क्षेत्रमा अवस्थित छ, सरुमारानी गाउँपालिका । धार्मिकरुपमा महत्त्वपूर्ण मानिने स्वर्गद्वारी जाने प्रवेशद्वारको रुपमा यो गाउँपालिका परिचित छ । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङबाट ८ किमी उत्तरबाट यो गाउँपालिकाको भूगोल सुरु हुन्छ । यस गाउँपालिकाको नाम यहाँ रहेको सबैभन्दा अग्लो पहाड सरुमारानीबाट राखिएको हो । महालेखाको पछिल्लो प्रतिवेदनअनुसार शून्य बेरुजु रहेको यस गाउँपालिकामा झगबहादुर विश्वकर्मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । 

शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीलाई प्राथमिकतामा राखेका अध्यक्ष विश्वकर्माले पहिलो कार्यकालमा यहाँका सबै वडामा सडक संजाल पुर्‍याउन सफल भएका थिए । विशेषगरी नयाँ ट्याक खोल्ने, सडकको ग्राभेलिङ गर्ने, स्तरोन्नति गर्ने र कालोपत्रे सडक बनाउन गाउँपालिका सफल रह्यो । पूर्वाधारतर्फ गाउँपालिकाको प्रशासनिक भवन, सभाहल, वडा कार्यालयहरू तयार पारेको पालिकामा यस वर्षदेखि सबै वडाले आफ्नै भवनमार्फत सेवा दिदैँछन् । 

शिक्षाका सन्दर्भमा गाउँघरमा चन्दा उठाएर शिक्षकहरू राख्ने गरेकोको परिपाटीमा विश्राम लगाउँदै गाउँ शिक्षा ऐन बनाएर गाउँपालिकाले शिक्षक नियुक्ति गरेर अध्ययन अध्यापन गराइरहेको छ । ६५ जना विभिन्न विषयगत शिक्षकलाई अहिले गाउँपालिकाकै खर्चमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आइएको छ । सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर कायम गर्न शिक्षक दरबन्दीलाई पूर्णता प्रदान गरेको सरुमारानीले प्राविधिक र व्यावसायिक शिक्षा समेत प्रदान गरिरहेको छ । 

सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिकाले एक वडा एक एम्बुलेन्सको अवधारणा समेत अघि सारेको छ । गाउँपालिकामा १० शय्याको अस्पताल निर्माणको प्रक्रियामा छ । पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरू दोस्रो कार्यकालमा पूरा गर्ने लक्ष्यसहित अघि बढिरहेका अध्यक्ष झगबहादुर विश्वकर्माले सबैलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन आफू कटीबद्ध रहेको बताए । एक घर एक धाराको रणनीति अवलम्बन गरेको सरुमारानीले हालसम्म २ हजार घरधुरीमा पानीको धारा पुर्‍याइसकेको छ । यस आर्थिक वर्षमा थप ६ सय घरधुरीलाई धारा उपलब्ध गराउने लक्ष्य छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत १ सय ९ र गाउँपालिकाको लगानीमा ५ सय २६ गरी ६ सय ३५ घरधुरीलाई फुसको छाना विस्थापित गरी जस्तापाताले छाइएको छ । अति विपन्न परिवारका लागि ५७ वटा घर समेत निर्माण गरिएका छन् । 

पलिकाले अबको प्राथमिकतामा कृषि तथा पशुपालन र सिचाइलाई दिएको छ । सबैलाई सहज रुपमा सिचाई पुर्‍याउनका लागि विभिन्न योजनाहरू अघि बढाइएका छन् । यस वर्ष शून्य बेरुजु रहेको गाउँपालिका बन्न सफल सरुमारानीले मासिक रुपमा उत्कृष्ट काम गर्ने कर्मचारी घोषणा र सम्मान गर्दै आएको छ । किसानसँग गाउँ सरकार भन्ने अभियानलाई निरन्तरता दिएको सरुमारानी पर्यटकीय सम्भाव्यता बोकेको गाउँपालिका समेत हो ।

दोस्रो कार्यकालका लागि निर्वाचित सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मासँग जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश ।