close

पुतलीबजारका मेयर भन्छन् : हामी जनताका सेवक हौँ, शासक हैन (भिडियो कुराकानी)

पुतलीबजारका मेयर भन्छन् : हामी जनताका सेवक हौँ, शासक हैन (भिडियो कुराकानी)

ADVERTISEMENT

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुखमा निर्वाचित तुलसीराम रेग्मी आफू जनताको शासक नभएर सेवक रहेको धारणा राख्छन् । आफ्नो आगामी ५ वर्षे कार्यकाल जनताको सेवा गरेरै बिताउनेको उनको दाबी छ ।

जनताका न्यूनतम आवश्यकता के हो भन्ने कुरामा उनी स्पष्ट छन् । त्यसैले उनी पुतलीबजार नगरपालिकाको समृद्धिका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार र कृषिलाई प्राथमिकताका साथ अघि बढाएको बताउँछन् ।   

पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजार अवस्थित नगरपालिका हो  । २०५३ सालमा साबिकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरी पाँच वटा गाउँ विकास समिति मिलेर यो नगरपालिकाको गठन भएको हो । यो स्थानीय तहको पूर्वमा कास्की र तनहुँ जिल्ला, पश्चिममा आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका छन् । यस्तै उत्तरमा कास्की जिल्ला र फेदीखोला गाउँपालिका तथा दक्षिणमा विरुवा गाउँपालिका र भिरकोट नगरपालिका अवस्थित छन् ।

९ हजार ९ सय ५५ घरधुरी रहेको यस नगरपालिकाको जनसंख्या ५६ हजार २ सय ६२ रहेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याएर जित हासिल गरेका हुन् । नगर प्रमुख रेग्मीले जनतामाझ चुनावमा गरेका सबै प्रतिबद्धता ५ वर्षमा पूरा गरेर समृद्ध नगरपालिका बनाउने आफ्नो योजनाबाट यताउता हुने छुट आफूलाई नरहेको बताए । 

उनले विधिको शासन कायम गर्ने आफ्नो पहिलो दायित्व रहेकाले शून्य सहनशीलताको नीति अवलम्बन गरेर अघि बढिरहेको दाबी गरे । विगतका जनप्रतिनिधिले मनमानी तरिकाले खर्च गरेकाले करिब १४ करोड बराबरको दायित्व बहन गर्नुपर्ने अवस्था आएको बताए । त्यही कारण यस वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा सोचे अनुरूप काम गर्न नसकेको उनको गुनासो छ । नगर प्रमुख रेग्मी भन्छन्- ‘निवर्तमान जनप्रतिनिधिले नगरपालिकालाई निकै अस्तव्यस्त बनाएर गए । म आगामी पाँच वर्षमा यो नगरपालिकालाई भ्रष्टाचार रहित नगर बनाउने छु ।’ 

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेका नगरप्रमुख रेग्मीले शिक्षामा देखिएका विकृति, विसंगतिको अन्त्य गर्दै सामुदायिक विद्यालयमा गुणस्तरीय सेवा प्रदान गर्न आफू कटीबद्ध रहेको बताए । उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग सहकार्य गरेर पालिकाको बजेटबाटै विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्न दैनिक रुपमा दिवा खाजाको रुपमा प्रति विद्यार्थी १५ रुपैयाँमा ५ रुपैयाँ थपेर २० रुपैयाँ पुर्‍याइएको जानकारी दिए । 

त्यसैगरी गरिब, असहाय, द्वन्द्वपीडित, विपन्न बालबालिकाका लागि निःशुल्क छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ । उनले पैसा नभएर उच्च शिक्षा पढ्न पाइन भन्ने अवस्थाको अन्त्यका लागि वडामार्फत तथ्यांक संकलनको काम गरिरहेको समेत बताए । 

स्वास्थ्यमा सबैको सहज पहुँचका लागि पुतलीबजारमा संचालित १५ शय्याको प्रदेशस्तरीय अस्पतालमा दुई चरणमा डायलसिस सेवा सुरु गरिसकेको र त्यसमा पनि माझी, बोटे, कुमाल, गन्धर्व लगायतका जाति र विपन्न नागरिकलाई निःशुल्क सेवा दिइरहेको जानकारी गराए । 

नगरमा सुधारका लागि सबैभन्दा पनि पहिले आफैँबाट सुधारको थालनी गर्नुपर्ने धारणा राख्ने पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पालिका खबरकर्मी जनकराज पण्डितसँग कुरा गर्दै विभेदको राजनीतिले स्थानीय तहमा विकास हुन नसकेको गुनासो पोखे । प्रस्तुत छ प्रमुख रेग्मीसँगको कुराकानीको सम्पादित अंश ।