close

बयलपाटा अस्पताल जोगाउन सबै लागौँ : नगर प्रमुख कुँवर (भिडियो कुराकानी)

बयलपाटा अस्पताल जोगाउन सबै लागौँ : नगर प्रमुख कुँवर (भिडियो कुराकानी)

ADVERTISEMENT

"डोटी राम्रो डडेल्धुरा 

अछाम राम्रो साँफे

मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफे ।।" 

यो देउडा भाका सुदूरपश्चिमका जन-जनका जिब्रोमा झुन्डिएको छ । एकातिर बुढीगंगा नदी, अर्कोतिर छिपेखोला नदीको काखैमा छ, साँफेबगर । संचालनमा रहेको साँफेबगर विमानस्थलबाट अछामको साँफेबजारमा पुग्दा जो कोहीको मन पनि चङा बन्छ । त्यसैले त गीतमा अछाम राम्रो साँफे भनिएको हो । साँफे पनि साँफेबगर नगरपालिकामै पर्छ । २०७९ सालको निर्वाचनमा यस नगरपालिकाको नगर प्रमुखमा राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । 

१४ वटा वडा रहेको यस नगरपालिकाले अझै सोचेजस्तो समृद्धि हासिल गर्न सकेको छैन । १४ वडा मध्ये १० वटामा अझै पनि आधारभूत स्वास्थ्य सेवाका भवन बन्न सकेका छैनन् । दुई वटा क्याम्पस रहेको यस पालिकामा शिक्षाको अवस्थालाई भने सन्तोषजनक नै मान्नु पर्छ । बितेका ५ वर्षमा कनिका छरे जसरी बजेट छरिएकै कारण यस पालिकामा महसुस हुनेगरी विकास हुन नसकेको बुझाई नवनिर्वाचित नगर प्रमुख कुँवरको छ । त्यसैले त उनले यस पटक वडा तहमा दिइँदै आएको बजेटको सिलिङ नै हटाएर पालिकाबाटै देखिने गरी वडाको आवश्यकता अनुसारका योजनाहरू अघि सारेको बताए । 

साँफेबगरको अर्को विशेषता र आकर्षणको केन्द्र भनेको यहाँ रहेको बयलपाटा अस्पताल हो । बयलपाटा सुदूरपश्चिमको ठुला अस्पताल मध्ये एक हो । जहाँ बिरामीको उपचारमा कुनै शुल्क लाग्दैन । टिकट काट्न पैसा तिर्नुपर्दैन, औषधि किन्न निजी मेडिकलमा धाइरहनु पर्दैन । अस्पतालकै फार्मेसीमा सम्पूर्ण औषधी निःशुल्क उपलब्ध हुन्छन् । यो सबै सेवाका लागि अनुदान दिइरहेको छ, गैरसरकारी संस्था न्याय हेल्थ नेपालले । तर न्याय हेल्थ नेपालले हात झिक्यो भने अस्पताल बन्द हुने अवस्था छ । यसलाई टिकाइरहनू पर्ने दायित्व समेत साँफेबगरकै काँधमा छ । त्यसैले त नगरप्रमुख कुँवर यो अस्पताललाई जोगाइराख्न अछाम जिल्लाभरिका सबै स्थानीय तहले एक-एक करोड बजेट छुट्याउनु पर्ने माग र  आग्रह गर्छन् । 

त्यसरी नै युवा पुस्तालाई व्यवसाय र कृषितर्फ आकर्षित गराउने योजना उनको छ । निकै सम्भावना बोकेको नगरलाई बुढीगंगा र छिपेखोला नदीमा आउने बाढी नियन्त्रणका  लागि गुरुयोजना बनाएर अघि बढ्नु पर्ने उनी बताउँछन् । नगर प्रमुख कुँवरले आगामी ५ वर्षमा सडक नपुगेका बस्तीमा सडक पुर्‍याउने र बनेका सडकहरूको स्तरोन्नति गर्ने योजना अघि सारेका छन् । 

प्रस्तुत छ, पालिकाखबरकर्मी जनकराज पण्डितले साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरसँग गरेको कुराकानीको सम्पादित अंश ।