close

गौरका युवाद्वारा आफ्नो गाउँ आफैँ सफाई सञ्चालन (भिडियोसहित)

गौरका युवाद्वारा आफ्नो गाउँ आफैँ सफाई सञ्चालन (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । आफ्नो ठाउँ आफैँ सफा गरौँ भन्ने नाराका साथ रौतहटको गौर नगरपालिकाका युवाको सक्रियतामा बर्षौदेखि जीर्ण अवस्थामा रहेका मठ, मन्दिर, पार्क र पोखरीको सरसफाई अभियान थालिएको छ । 

स्थानीय युवाहरुले साप्ताहिकरुपमा सरसफाइसँगै सांस्कृति सम्पदा रहेको स्थानमा रंगरोगन र वृक्षारोपण  गर्ने गरेका छन् । करोडौंको लगानी गरे स्थानीय, प्रदेश र संघीय सरकारले गर्न नसकेको काम गौरनगरपालिकाका स्थानीय युवाहरुले गर्न थालेका छन् ।

गौरमा रहेका विभिन्न मठ, मन्दिर, पार्क र पोखरीलगायत सांस्कृतिक सम्पदाको जिणोद्धारमा स्थानीय युवाहरुको सक्रियता अहिले सबैको चासोको विषय बनेको छ । युवाले राम्रो काम गर्दा स्थानीय सरकार भने आलोचित हुनुपरेको छ । 

हरेक शनिबार गौर नगरपालिकाका युवाहरुले सांस्कृतिक सम्पदाको सरसफाइ र रंगरोगन गर्दै आएका छन् । गौर नगरपालिकास्थित जिल्ला अस्पतालबाट यो अभियानको सुरुवात गरिएको हो । सरसफाई अभियान निरन्तर रूपमा अगाडि बढ्ने तथा भविष्यमा जिल्लाभरिका १८ वटै पालिकामा यो अभियान संचालन गर्ने लक्ष्य यी युवाको छ । युवाहरुले आफ्नो आयबाट निश्चित रकम यो अभियानमा खर्च गर्ने गरेका छन् । 

आफैँले फोहर गरेको ठाँउमा सफाई गर्दा गर्व महसुस भएको उनीहरु बताउँछन् । साथै यी युवाहरुले देशभरका युवालाई आफ्नो नगर आफैँ सरसफाई गरौँ अभियान संचालन गर्न आग्रह समेत गरेका छन् । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएको झन्दै ५ महिना बिते पनि अहिलेसम्म गौर नगरपालिकाले नगरको फोहरलाई  व्यवस्थापन गर्न सकेको छैन । 

तर, युवाहरुले भने आफैँ रकम संकलन गरेर विभिन्न स्थानमा कीटनाशक औषधिसमेत छर्ने गरेका छन् । यो अभियानअन्तर्गत बानेश्वरनाथ मन्दिरको समेत जिर्णोद्धार र सरसफाइ गरिएको छ । यस मन्दिरका महन्थ ओमप्रकाश भारतीले यो अभियानमा सरिक स्थानीय युवाहरुलाई धन्यवाद दिनुका साथै यस्तो सामाजिक कार्यमा सबै एकजुट हुनुपर्ने बताए । 

गौर नगरपालिकाको पर्यटन गन्तव्य रहेको बरहवा खोला पार्कसँगै प्रादेशिक अस्पतालमा समेत सरसफाइ र बृक्षारोपन गरिएको छ । तर, यति काम गर्दा समेत यी युवाहरुलाई स्थानीय सरकारले अहिलेसम्म कुनै सहयोग गरेको छैन ।