close

चाँगुनारायणमा इँटामा कर, मकवानपुरगढीमा कोदो र फापरको मूल्य निर्धारण (भिडियाेसहित)

चाँगुनारायणमा इँटामा कर, मकवानपुरगढीमा कोदो र फापरको मूल्य निर्धारण (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

 काँचो इँटा उत्पादनमा चाँगुनारायणको कर
भक्तपुरको चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।

इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेलाई नगरपालिकाले कर लगाएको हो ।  वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले काँचो इँटामा कर लगाएको नगरप्रमुख जीवन खत्रीले बताए । 

धनगढीको टिकटक प्रतियोगितामा लोकेन्द्र बहादुर पालज्यू विजयी
कैलालीको धनगढी उपमहानगरपालिकाद्वारा आयोजित टिकटक प्रतियोगितामा लोकेन्द्र बहादुर पालज्यू विजयी भएका छन् । स्वच्छता बिषय सम्बन्धी टिकटक प्रत्योगीतामा मंसिर महिनामा पालज्यू विजयी भएका हुन् ।

उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको अनुसार सो विषयमा निर्माण भएको टिकटकमध्ये सबैभन्दा बढी मन पराईएको, हेरिएको र प्रतिक्रिया गरेको आधारमा उनी प्रथम भएका हुन् । 

विजयी पालज्यूलाई पालिकाले १५००० रुपैयाँ पुरस्कार वितरण गरिएको उनले बताए ।  
 

सर्केगाडमा गर्भवती महिलाको अल्ट्रासाउन्ड
हुम्लाको सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा १०६ जना गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ । गाउँघरका गर्भवती महिलाको  सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा गाउँपालिकामा अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको हो ।

पालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए। 

तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६ भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुुई जनाको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो ।

 मकवानपुरगढीमा कोदो र फापरको मूल्य निर्धारण
 मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ ।
 
गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र  फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको जनाइएको छ । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ ।

 मध्यविन्दुमा फोहरबाट जैविक मल
नवलपरासीको मध्यविन्दु नगरपालिकाले  फोहर व्यवस्थापनबाट रोजगारी सिर्जना गर्दै जैविक मल उत्पादन गर्ने योजना अघि बढाएको छ ।  फोहर व्यवस्थापन प्राय सबै क्षेत्रमा टाउको दुखाइ बन्दै गर्दा मध्यविन्दुले फोहरबाट मोहर कमाउन लागेको छ ।

 नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रवर्तन’ कार्यक्रमको पहिलो चरणको काम सुरु गरेको हो । यस कार्यक्रम अन्तर्गत यस पालिकामा प्रदूषण न्यूनीकरण, फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।
 

गोकर्णेश्वरमा आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता
काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा  आत्मकथा तथा स्मरण लेखन सम्पन्न भएको छ । नगरपालिकाको सहयोगमा अभिनव साहित्य समाजले प्रतियोगितात्मक महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रमअन्तर्गत आत्मकथा तथा स्मरण लेखन सम्पन्न भएको हो ।
 
कार्यक्रमअन्तर्गत महिलालाई आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले  जानकारी दिए ।   प्रतियोगितामा नगरपालिकाका ४० जना महिलाले भाग लिएका थिए ।
 

 घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एकाइ सञ्चालन गरेको हो । 

अन्नपूर्ण गाउँपालिका–७ को वडास्तरको स्वास्थ्यचौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकटमा रहेको स्वास्थ्य एकाइमा पुग्न एक घण्टा ३० मिनेटभन्दा बढी पैदलयात्रा गर्नुपर्छ । 

वडास्तरको स्वास्थ्यचौकी र छिमेकी गाउँको एकाइमा पुगेर सेवा लिन अपायक हुँदा समस्या भोग्दै आएका घराम्दीका बासिन्दालाई लक्षित गरेर स्थापना गरिएको एकाइबाट सोमबारदेखि सेवा सञ्चालन गरिएको वडाध्यक्ष माइलन पुर्जा पुनले जानकारी दिए ।