close

वडा सरकारद्वारा पानीको ट्यांकी वितरण, अपांगता भएका व्यक्तिलाई रोजगारीको अवसर (भिडियाेसहित)

वडा सरकारद्वारा पानीको ट्यांकी वितरण, अपांगता भएका व्यक्तिलाई रोजगारीको अवसर (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

वडा सरकारद्वारा पानीको ट्यांकी वितरण 

सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा सरकारले पानीको ट्यांकी वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ वडा कार्यालयले स्थानीयलाई पानीको ट्यांकी वितरण गरेको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप वडा सरकारले २५ वटा घरधुरीलाई ५०० र १००० लिटरको पानीको ट्यांकी वितरण गरेको जनाइएको छ । वडाबासीलाई पानीको सुविधा दिनको लागि वडा कार्यालयले सो सामग्री वितरण गरेको जनाइएको छ । 

कालिकामा करार सेवामा कर्मचारी माग

चितवनको कालिका नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै रोजगार संयोजक सेवामा कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार छैठौं अधिकृत  स्तरमा पालिकाले कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

कास्कीको पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । 

लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था छ । 

कृष्णपुरका पाँच स्थानमा छाडा चौपाया व्यवस्थापन

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ  । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । 

निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताए।

कृषकलाई अनुदानमा हाते ट्याक्टर

गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।  

गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए। कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनले बताए।

अपांगता भएका व्यक्तिलाई रोजगारीको अवसर

संखुवासभाको धर्मदेवी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार अपांगता भएका व्यक्तिहरुलाई सम्पूर्ण परामर्श तथा सूचना सेवा प्रदान गर्नको लागि स्थापना गरिने अपांगता सहायता कक्षका लागि कर्मचारी माग गरिएको हो । सूचनाका अनुसार अपांगता भएका व्यक्तिले मात्रै सो पदका लागि दरखास्त दिने पाउँनेछन् । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनोट गरिने सूचनामा उल्लेख गरिएको छ । 

कोहलपुरमा कासेली घर सञ्चालन

बाँकेको कोहलपुर नगरपालिकामा  कोसेली घर सञ्चालन भएको छ । कोहलपुर – १५  वडामा उत्पादनमा भएका अर्गानिक वस्तु अन्यत्र पुर्याउन सक्ने गरीे कोसेली घरको व्यवस्था गरिएको कोसेली घरका प्रबन्ध निर्देशक ईश्वर शर्माले जानकारी दिए । 

स्थानीयस्तरमा उत्पादन हुने गरेका वस्तुलाई बजारीकरणमा हुने समस्या न्यूनीकरण गर्न कोसेली घर सञ्चालनमा ल्याएको उनको भनाइ छ।