close

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण, मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन गाउँपालिकाको निर्देशन

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण, मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन गाउँपालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

कुकुरलाई रेविजविरुद्ध खोप लगाउँदै वैतेश्वर

दोलखाको वैतेश्वर गाउँपालिकाले कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाभित्रका सबै वडा कार्यालयमा रेबिजविरुद्धको खोप लगाउन लागेको हो । 

गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै पन्ध्र दिनभित्र सम्बन्धित वडा कार्यालयमा खोप लगाउन सकिने जनाएको छ।

पशुचौपायामा  ‘लम्पी स्कीन’ को सङ्क्रमण

बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ का करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिए। 

यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने तथा सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन् । रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको प्रमुख साउँदले बताए। तर यो रोग निको पार्नेसम्बन्धी कुनै सुई नभएको उनको भनाइ छ।

बुटवलद्वारा खेलाडी मल्ल ५० हजार नगदसहित सम्मानित

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ। एक समारोहको आयोजना गरी उपमहानगरपालिकाले मल्ललाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरेको हो । 

सम्मान कार्यक्रममा नगरप्रमुख  खेलराज पाण्डयले  मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताएका छन्। नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध

मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्र रहेका व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । 

नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै पसल, उद्योग व्यवसाय, बैंक तथा वित्तिय संस्था, फर्म लगायतका व्यवसाय दर्ता गर्न तथा दर्ता गरेको व्यवसायलाई नविकरण गर्न व्यसायिलाई अनुरोध गरेको हो।  आवश्यक कागजात सहित असार मसान्त सम्म व्यवसाय दर्ता तथा नविकरण गर्न नगरपालिकाले निर्देशन दिएको छ। 

धानको उन्नत जातको वीउ माग गर्न छत्रदेवको अनुरोध

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वीउ माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा धानको उन्नत जातको वीउ वितरण गर्न लागेको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी, समूहले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडा सरकार

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीलाई सम्मान गरिने भएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा लगायतका लाभग्राहीलाई सम्मान गर्ने भएको हो। 

यहि चैत ७ गते वेशिगाउँस्थित वडा कार्यालय परिसरमा बिहान ८ बजे सम्मान कार्यक्रम सञ्चालन हुने वडाले एक सुचना जारी गर्दै जनाएको छ । उक्त स्थानमा सामाजिक सुरक्षा भत्ता परिचय पत्रसहित उपस्थित हुन स्थानिय लाभग्राहीलाई वडा कार्यालयले अनुरोध गरेको  छ । 

मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन गाउँपालिकाको निर्देशन

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै १५ दिन भित्र पालिकाभित्रका होर्डिङ बोर्ड हटाउन सरोकारवालालाई निर्देशन दिएको हो। 

तोकिएको समयमा होर्डिङ बोर्ड नहटाएमा विज्ञापन दाता, विज्ञापन एजेन्सी तथा सरोवारवालाई प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा सुचनामा उल्लेख छ।