close

अव्यवस्थित बसोबास गर्नेलाई लालपूर्जा, पाँच वर्षे सेवा पुरा गरेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्दै दुुहुँ

अव्यवस्थित बसोबास गर्नेलाई लालपूर्जा, पाँच वर्षे सेवा पुरा गरेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्दै दुुहुँ

Trulli
ADVERTISEMENT

साहसिक ‘खेल–पर्यटन हव’ बन्दै पनौतीको कुशादेवी क्षेत्र

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । पनौती बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रक क्लाइम्बिङको सुरुआतले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ । 

रक क्लाइम्बिङको नगरप्रमुख रामशरण भण्डारीले मङ्गलबार शुभारम्भ गरेका हुन्। उनले पनौती सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा कुशादेवी क्षेत्रमा थपिएका साहसिक खेल गन्तव्यले खुसीयाली पनि थपिएको बताए ।

कृषि मेसिनरी माग गर्न मालिकाको अनुरोध

म्याग्दीको मालिका गाउँपालिकाले कृषि मेसिनरी सामग्री माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा कृषि मेसिनरी सामग्री माग गर्न अनुरोध गरेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था तथा फार्मले चैत २३ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन्। 
कार्यक्रममार्फत ३ वटा हाते ट्याक्टर तथा मिल खरिद र ६ वटा मिनी टेलर वितरण गरिने छ । कार्यक्रमका लागि गाउँपालिकाले ४ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ । दुबै कृषि सामग्री ७० प्रतिशत अनुदानमा वितरण गरिने र पहिले नलिएका स्थानीयलाई प्राथमिकता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए । 

अव्यवस्थित बसोबास गर्नेलाई लालपूर्जा

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले अव्यवस्थित रुपमा बसोबास गर्दै आएका परिवारलई जग्गाधनी पूर्जा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर ७ मा बसोबास गर्दै आएका ७ जनालाई लालपूर्जा वितरण गरिएको हो ।  

उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले वितरण गरेका हुन्। लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए ।

पाँच वर्षे सेवा पुरा गरेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्दै दुुहुँ

दार्चुलाको दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई प्रत्येक पाँच वर्षमा सुरुवा गर्ने भएको छ । 

पालिकाभित्रको शैक्षिक गुणस्तरमा सुधार गर्नको लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको हरेक पाँच वर्षमा सरुवा गराउन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका शिक्षा शाखाका संयोजक लोकेन्द्रबहादुर बमका अनुसार सामुदायिक विद्यालयका शिक्षकमा जाँगर उजागरण गराउन र सिकाईमा वृद्धि गर्नको लागि सो निर्णय गरेको हो । 

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

झापाको मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो लिएर आउने गरेको बताए। उनले विभिन्न लटमा बिउ वितरण गरिएको मध्ये एक लटको मकैको बिउमा उमार शक्ति नभएको पाइएको बताए। नगरमा गुनासो लिएर आउने किसानलाई पुनः बिउ दिएर पठाइने गरेको उनको भनाइ छ । 

 घरबाटै सेवा लिन वडा कार्यालयको एप

कास्कीको  पोखरा महानगरपालिका वडा नं‍ १२ ले मोबाइल एप सार्वजनिक गरेको छ । नागरिकहरूले प्राप्त गर्ने सेवालाई सहज बनाउँदै घरबाटै सेवा लिने कार्यको सुरुवात गर्ने प्रयत्न स्वरूप मोबाइल एपको विकास गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।  

एप सार्वजनिक गर्दै महानगर प्रमुख धनराज आचार्यले महानगरका सेवाहरूलाई वडा स्तरबाटै प्रविधि करण गर्दै लैजाने अभियानको सुरुवात भएको बताएका छन्।

साना कृषि औजार माग गर्न छत्रकोटको अनुरोध

गुल्मीको छत्रकोट गाउँपालिकाले साना कृषि औजार माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि औजार वितरण गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने स्थानीय कृषकले चैत २५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । पालिकाले मिनिटिलर, कम्बाइण्ड राइस मिल र च्यापकटर वितरण गर्ने एक सुचना जारी गर्दै जानकारि दिएको छ।