close

मासु उत्पादनको लागि बाख्रा प्रर्वद्धन कार्यक्रम, विद्यार्थी भर्ना गर्न जन्मदर्ता अनिवार्य गर्दै घोराही

मासु उत्पादनको लागि बाख्रा प्रर्वद्धन कार्यक्रम, विद्यार्थी भर्ना गर्न जन्मदर्ता अनिवार्य गर्दै घोराही

Trulli
ADVERTISEMENT

मासु उत्पादनको लागि बाख्रा प्रर्वद्धन कार्यक्रम

बाग्लुङको ढोरपाटन नगरपालिकाले बाख्रा प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

वित्तीय हस्तान्तरण गरिवी न्यूनीकरण तथा मासु आत्मनिर्भरताको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताए । कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि सहकारी संस्था, समूहले सूचना प्रकासित भएको २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने उनले बताए । नगरपालिकाको अनुसार सो कार्यक्रम अन्तर्गत २० वटा बाख्रा वितरण गरिने छ । 

तरकारी पकेट विकास कार्यक्रम गर्दै तारकेश्वर

काठमाडौंको तारकेश्वर नगरपालिकाले पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि समूह, सहकारी, उपभोक्ता समिति तथा फार्मले सूचना प्रकासित भएको ३० दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । सो कार्यक्रममार्फत तरकारी बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र सञ्चालन गर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

उपमहानगरद्वारा किसानलाई मकैको वीउ वितरण

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले किसानलाई मकैको वीउ वितरण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ का ३१ जना किसानलाई मकैको बीउ वितरण गरेको हो ।

वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको  उपमहानगरपालिकाले जनाएको छ । 

उच्च शिक्षा अध्ययन गर्नको लागि छात्रवृत्ति

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप उच्च शिक्षा अध्ययन गर्न चाहने स्थानीय बासिन्दालाई छात्रवृत्ति वितरण गर्न लागेको हो । 

विपन्न, जेहेन्दारल दलित तथा पीछडिएका व्यक्तिलाई सो कार्यक्रममा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताए । कार्यक्रमको लागि पालिकाले चालू आर्थिक वर्षमा ४ लाख रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रममा सहभागी हुनका लागि आवश्यक कागजातसहित पालिकाको शिक्षा शाखामा आवेदन दिनुपर्ने छ। 

विद्यार्थी भर्ना गर्न जन्मदर्ता अनिवार्य गर्दै घोराही

दाङको घोराही उप–महानगरपालिकाले आगामी शैक्षिकसत्रबाट विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ ।
विद्यालय भर्ना गर्दा जन्मदर्ता अनिवार्य नहुँदा बालबालिकाको जन्मदर्ता नबनाउने भएकाले आगामी शैक्षिकशत्र देखी यसलाई अनिवार्य गर्न निर्देशन दिइएको उपमहानरपालिकाले जनाएको छ।  

उप–महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा घोराही ७ सौडियारमामा आयोजित व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा सम्वन्धि नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले सो निर्देशन दिएका हुन् ।

पचरौतामा गाईभैसी पकेट कार्यक्रम

बाराको पचरौता नगरपालिकाले गाई भैंसी पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रम पालिकाभित्रका ९ वटै वडामा सञ्चालन हुने छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था तथा फार्मले सूचना  प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।

५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण गर्दै नेचासल्यान

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले कृषि यान्त्रिकरण वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण गर्न लागेको जनाएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक पालिकाभित्र बसोबास गर्ने कृषक, सहकारी संस्था, फार्म तथा समूहले आवश्यक कागजातसहित चैत २२ गतेभित्र आवेदन दिन सक्नेछन्।