close

किसानलाई माछाको भुरा वितरण, श्रमदान गर्न प्रधानमन्त्रीलाई नगरप्रमुख साम्पाङको निम्तो (भिडियाेसहित)

किसानलाई माछाको भुरा वितरण, श्रमदान गर्न प्रधानमन्त्रीलाई नगरप्रमुख साम्पाङको निम्तो (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

वैशाख १ गतेदेखि विराटनगरमा खैनी, चुरोट गुट्का निषेध

मोरङको विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। महानरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानका लागि महानगरले यस्तो निर्णय गरेको हो। 

नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।

कालिका गाउँपालिकामा स्वास्थ्य शिविर

रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 

तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय ५० जनाको आँखा परीक्षण गरिएको तिलगङ्गा आँखा केन्द्र रसुवाकी प्रमुख एवं नेत्र सहायक उर्मिला तामाङले जानकारी दिइन्। 

किसानलाई माछाको भुरा वितरण

लमजुङको सुन्दरबजार नगरपालिकाले माछापालक किसानलाई माछाको भुरा वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी माछाको भुरा वितरण गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार स्थानीय कृषकलाई कमन क्रप जातको माछाको भुरा वितरण गरेको हो । नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउनका लागि र अर्थीकोपार्जन गर्नको लागि सो कार्यक्रम सञ्चालन गरिएको  नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । पालिकाले ५०००० माछाका भुराहरु वितरण गरिएको हो ।

श्रमदान गर्न प्रधानमन्त्रीलाई नगरप्रमुख साम्पाङको निम्तो

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई श्रमदान गर्न धरानमा आमन्त्रण गरिएको छ । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ राईले पत्राचारमार्फत प्रधानमन्त्री दाहाललाई श्रमदान गर्न आमन्त्रण गरेका हुन् । 

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गरी पत्रचार गरेका छन् । सोही  पत्राचारमार्फत प्रधानमन्त्रीलाई श्रमदान गर्न धरानमा आमन्त्रण गरिएको हो । उपमहानगरपालिकालाई नमुना पालिका निर्माण गर्न आफूहरु लागि परेको सो पत्रमा नगरप्रमुख राईले उल्लेख गरेका छन् । 

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज

काभ्रपलाञ्चोकको धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । 

नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइनेछ । नगरप्रमुख अशोककुमार ब्याञ्जूले सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई त्यहाँ कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने बताए। 

दीपालयमा बृहत् लिफ्ट सिँचाइ योजना सुरु

डोटीको  दीपायल सिलगढी नगरपालिकामा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएको छ । वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाख लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । 

योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ। 

बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको पातारासी गाउँपालिकाले विवाहअघि वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको हो। गाउँपालिकाको वडा नं ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषणा समेत गरिएको छ । 

दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिह बोहोराले जानकारी दिए ।अब अरु वडालाई छिट्टै बालविवाहमुक्त गरिने उनले बताए।