close

चन्द्रागिरीका छोरी बुहारीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति, फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार (भिडियाेसहित)

चन्द्रागिरीका छोरी बुहारीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति, फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

चन्द्रागिरीका छोरी बुहारीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

काठमाडौंको चन्द्रागिरी नगरपालिकाले छोरी बुहारीलाई छात्रवृत्ति दिने भएको छ । नगरपालिकाले छोरी बुहारीको उच्च शिक्षाको लागि छात्रवृत्ति वितरण गर्न लागेको नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताए। 

आर्थिक अभावको कारणले उच्च शिक्षा अध्ययन गर्न नपाएका छोरी र बुहारीले उच्च शिक्षा अध्ययन गर्न पाउने अवस्थाको सिर्जना गर्न चन्द्रागिरी नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरेको उनले बताए । कक्षा १२ उत्तीर्ण गरिसकेका महिलालाई प्रदान गर्ने उक्त कार्यक्रमको लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

प्रधानाध्यापकले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने

कास्कीको पोखरा महानगरपालिकाले  महानगरका सबै प्रधानाध्यापकले विद्यालय सुधार एवं विकासको चार वर्षे योजना महानगरमा बुझाउनुपर्ने निर्णय गरेको छ।

नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे  कार्यक्रम कार्यान्वयन गर्दै उक्त निर्णय गरेको हो । महानगर प्रमुख धनराज आचार्यका अनुसार महानगरभित्रको शैक्षिक क्षेत्रलाई व्यवहारिक, व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले शिक्षा सम्बन्धि  निर्णय गरिएको हो। 

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

चितवनको रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापनमा उत्कृष्ट पुरस्कार पाएको छ ।  

नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ । सो कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले पाँच हजार डलर राशिको पुरस्कार पाएको हो । 

साकेलामा सामाजिक सुरक्षा भत्ता वितरण

खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका र नेपाल एसबिआई बैंक साकेला शाखाद्धारा संयुक्त आयोजनामा तेश्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईका अनुसार शिविरको पहिलो दिन  वडा नंम्बर १ स्थित बाँझेच्यानडाँडामा वितरण गरिएको हो । शिविरमा ७६ जना जेष्ठ नागरिक, अशक्त अवस्थाका नागरिकहरुलाई  ९ लाख ६२००० रकम वितरण गरिएको छ । 

सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

हुम्लाको अदानचुली गाउँपालिकाका सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८र७९ मा प्रोत्साहनवापत पाउने  भत्ता नपाएको गाउँपालिकाका १६५ जना सुत्केरीले गुनासो गरेका हुन्। 

गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि सुत्केरी महिलाहरु उक्त सुविधाबाट वञ्चित भएका हुन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले आफू साउनमा मात्रै आएका कारण त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए ।

सामुदायिक विद्यालयको फोहोरको मल बनाउन बिन वितरण

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको फोहोरको व्यवस्थापनको लागि कम्पोष्टिङ बिन वितरण गरेको छ। महानगरले स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयबाट उत्पादन भएको जैविक फोहोर व्यवस्थापनका लागि सोमबारदेखि कम्पोष्टिङ् सुरु गरेको हो । 

फोहोरलाई स्रोतमा बर्गीकरण गर्ने र जैविक फोहोरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्धन गर्दै काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले कम्पोष्टिङ् सुरु गरेको हो । महानगरले परिवारका लागि १ सय लिटर क्षमताको र धेरै व्यक्तिबाट फोहोर उत्पादन हुने भए २ हजार लिटरको सामुदायिक कम्पोष्टिङ् बिनको प्रयोग प्रबर्धन गरिरहेको छ ।

प्रस्ताव पेश गर्न नौकुण्डको अनुरोध

रसुवाको नौकुण्ड गाउँपालिकाले कृषि तथा पशुपालन सम्बन्धि कार्यक्रममा प्रस्ताव माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गर्न लागेको  जनाएको छ । 

कार्यक्रम अन्तर्गत गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको भैंसी पालन, कुखुराको दाना र ७५ प्रतिशतमा अनुदानमा चल्ला वितरण गर्ने छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् ।