close

१०० वटा व्यवस्थित घर निर्माण गर्दै पोखरा, रामपुरमा १६ जना सहजकर्ता माग (भिडियाेसहित)

१०० वटा व्यवस्थित घर निर्माण गर्दै पोखरा, रामपुरमा १६ जना सहजकर्ता माग (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

१०० वटा व्यवस्थित घर निर्माण गर्दै पोखरा

कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो । 

न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य सम्झौताले लिएको छ । 

रामपुरमा १६ जना सहजकर्ता माग

पाल्पाको रामपुर नगरपालिकाले करार सेवामा तथ्यांक संकलन सहजकर्ता माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्नको लागि १६ जना सहजकर्ता माग गरेको हो । 

किसानको पहिचान गरी सरकारी तबरबाट किसानलाई प्रदान गरिने सेवा र सुविधा पारदशिकता तथा सुशासन अभिवृद्धि गर्नको लागि विवरणहरु विद्युतीय प्रणाली मार्फत संकलन गरी परिचयपत्र प्रदान गर्नको लागि सहजकर्ता माग गरिएको हो। इच्छुक व्यक्तिले ३०० रुपैयाँ दस्तुर तिरी बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।

बाख्रा र भेडालाई निःशुल्क पीपीआर खोप

स्याङजाको चापाकोट नगरपालिकाले पालिकाभित्रका किसानले पालेका बाख्रा र भेडालाई निःशुल्क पीपीआर खोप लगाएको छ। बाख्रामा ज्वरो आउने, नाकबाट सिंगान बग्ने र पखला लाग्नेलगायतका समस्या देखिएपछी निःशुल्क खोप लगाउन थालेको हो । 

खोप लगाउनका लागि ३८ जना पुश चिकित्सकलाई शिविरमार्फत टोलटोलमा पठाइएको नगरप्रमुख देवकुमार खाँणले बताए। नगरपालिकाले हालसम्म पालिकाभित्रका ११ हजार ४७४ वटा बाख्रा र ३६ वटा भेडालाई खोप लगाएको छ । 

लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै गोलन्जोर

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै बागमति प्रदेशको चौथौं र पाँचौ तह ९प्रशासन० को तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो । 

कक्षा बैशाख ७ गतेदेखि बिहान ७ बजेदेखि सुरु हुने सो सूचनामा उल्लेख गरिएको छ । कक्षामा सहभागि हुन व्यक्तिले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि बुझाउनु पर्ने गाउँपालिकाले जनाएको छ । 

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

बाँकेको कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ । कोहलपुर नगरपालिकाले नगर विकास कोषसँगको ऋण सम्झौतामा बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरेको छ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिए।

करार सेवामा एक जना कर्मचारी माग

भक्तपुरको चाँगुनारायाण नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्राविधिक चिकित्सक भेटेरनरी पदमा करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवेदकहरुबीच प्रतिस्पर्धा गराई योग्य व्यक्ति छनौट गरिने छ । 

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

मोरङको विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउन  ‘सिसी क्यामेरा’ जडान गरेको छ । व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । 

पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो । अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । सिसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ ।