close

चन्द्रनगरमा धनी पुर्जा वितरण, तरकारी बेच्न परिचयपत्र अनिवार्य (भिडियाेसहित)

चन्द्रनगरमा धनी पुर्जा वितरण, तरकारी बेच्न परिचयपत्र अनिवार्य (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

चन्द्रनगरमा धनी पुर्जा वितरण

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका–४ स्थित गढाटोलाबाट जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा वितरण गरिएको छ। पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको हो।

तरकारी बेच्न परिचयपत्र अनिवार्य

दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए।

तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई परिचय पत्रको लागि सूचीकृत गर्न आह्वान गरेका छन्। किसानले परिचयपत्र पाएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन् । तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न नदिइने उपमहानगरले जनाएको छ।

उर्लाबारीमा करार सेवामा कर्मचारी माग

मोरङको उर्लाबारी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सर्भेक्षकमा १ र अमिनमा २ जना गरी ३ जना कर्मचारी माग गरेको हो। 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने छन्। आवेदकहरुबीच लिखित र अन्तर्वार्तामार्फत योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ । 

किसानलाई कृषि सामग्री वितरण

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना  कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । 

चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध  किसानलाई बुधबार  स्प्रे पम्प, त्रिपाल, मलखाद तथा धानका बीउ वितरण गरेको छ । परियोजनाबाट आठ लाख र किसान समूहबाट आठ लाख गरी १६ लाख रुपैयाँ बराबरको कृषि सामग्री खरिद गरी वितरण गरिएको परियोजनाका प्रमुख अनिल तिवारीले जानकारी दिए।

बुढानीलकण्ठ नगर क्षेत्रमा सीसीटीभी जडान गर्न सम्झौता

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानीलकण्ठ नगरपालिकाबीच सीसीटीभी जडानको लागि सम्झौता भएको छ । नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सीसीटीभी जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो।

नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताएका छन्।

मलंगवामा कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा

सर्लाहीको मलंगवामा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको हो। 

यस किसिमको परीक्षाबाट विद्यालयमा शिक्षाको अभिवृद्धि एवम् गुणस्तर प्रवद्र्धन गर्न सहयोग पुग्ने नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।  ग्रेड वृद्धिको परीक्षा पनि उत्तीर्ण गर्न नसक्ने विद्यार्थीले फेरि त्यही कक्षा दोहर्याउनु पर्ने भएको छ ।

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

मोरङको मिक्लाजुङ गाउँपालिकाले श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ । २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।