close

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा, कीर्तिपुरका कृषकलाई बोका र पाठी वितरण

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा, कीर्तिपुरका कृषकलाई बोका र पाठी वितरण

Trulli
ADVERTISEMENT

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकमबाट विपन्न परिवारको  बिमा गराउने भएका छन्। 

वडाध्यक्ष उप्रेतीले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेका थिए। सोही अनुसार उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्न लागेको उनले बताए। 

कीर्तिपुरका कृषकलाई बोका र पाठी वितरण

काठमाडौंको कीर्तिपुर नगरपालिकाले बाख्राको बोयर जातका बोका र पाठी वितरण गरेको छ । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप १०० प्रतिशत अनुदानमा आइतबार स्थानीय बासिन्दालाई नगरपालिकाले बोका र पाठी वितरण गरेको हो। 

पशु विकास शाखाका प्रमुख प्रकाश लुइटेलले नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउनका र आर्थिक आय आर्जनको लागि बोका र बाख्रा वितरण गरेको बताए । नगरपालिकाले ११ जना दलित समुदायका नागरिक र १५ जना युवालाई बोका र बाख्रा वितरण गरेको छ। 

वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९ र ३० गते रात्रि बजार लगाउन लागिएको हो।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी तयारी गरिएअनुसार २९ र ३० गते रात्रि बजार लागाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए। २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय भएको उनको भनाइ छ ।

जनप्रतिनिधि  र कर्मचारीका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना

गुल्मीको छत्रकोट गाउँपालिकाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ । 

बैशाख १७ गते बसेको गाउँपालिका शिक्षा समितिको बैठकले सार्वजनिक जिम्मेवारीमा रहेका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । शिक्षा शाखाका प्रमुख टीकाराज आचार्यका अनुसार पालिकाभित्रको सामुदायिक विद्यालयको शिक्षाको सुधार गर्नको लागि सो निर्णय गरेको हो । 

बराहताल गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

सुर्खेतको बराहताल गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले वैशाख २० गते पालिका प्राङ्गणमा बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न लागेके हो। 

गाउँपालिकाको अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकामा  सार्वजनिक सरोकारका विषयमा भएका कामका विषयमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो। उक्त कार्यक्रममा सहभागिता जनाउन पालिकावासी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, सञ्चारकर्मी लगायतका सरोकारवाला व्यक्तिलाई गाउँपालिकाले अनुरोध गरेको छ । 

५४ वर्षपछि माध्यमिक तह सञ्चालन

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु गरिएको छ।  विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । 

कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए ।  गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा रहेको सिम्पानी मावि पुग्नुपर्ने बाध्यता हटेको छ। 

इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मानित

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरेको हो ।

आइतबार चालक महिलालाई सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका इरिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए । इरिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने तयारी गरिरहेको बताउँदै उनले बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए।