close

आँबूखैरेनीका विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम, मध्यबिन्दुमा जग्गा नापजाँच सुरु

आँबूखैरेनीका विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम, मध्यबिन्दुमा जग्गा नापजाँच सुरु

Trulli
ADVERTISEMENT

आँबूखैरेनीका विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम

तनहुँको आबूखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आइतबार वडा नम्बर ४ स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयबाट उक्त कार्यक्रमको सुरुवात गरेको छ। 

विद्यालयमा अध्ययनरत विद्यार्थीले करिब २ रोपनी जग्गामा १७५ किलोग्राम अदुवा र १६५ किलोग्राम हलेदो रोपेका छन् । गाउँपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिको सहभागितामा सो कार्यक्रमको सुरुवात गरिएको हो। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्रका विद्यार्थीलाई सीप र उत्पादनसँग जोड्नको लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको बताए। 

मध्यबिन्दुमा जग्गा नापजाँच सुरु 

नवलपरासीको मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम सुरु भएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जानकारी दिए। मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम सुरु गरिएको हो। 

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुरको बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडा नं ८ को पचुईँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए।

उत्कृष्ट कृषकलाई पुरस्कृत गर्दै जुगल

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै दुध, मासु र अण्डा उत्पादन क्षेत्रमा २–२ जना कृषकलाई पुरस्कृत गरिने जनाएको छ। 

कार्यक्रममा सहभागि हुन इच्छुक दुध वा मासु वा अण्डा उत्पादक कृषक तथा फार्मले आवेदन पेश गर्न सक्नेछन्। यही वैशाख २५ गतेसम्म गाउँपालिकाको पशु शाखामा आवश्यक कागजातसहित आवेदन दिन सकिने सुचनामा उल्लेख गरिएको छ। 

चैतमै सकिए ९५ प्रतिशत योजना

बागलुङको जैमिनी नगरपालिकामा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । केही ढिलागरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए।

नगरस्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको उनले जानकारी दिए । समपुरकका केही योजना र बहुबर्षे योजनाको कामबाहेक सबै काम सकेको उनले बताए। 

गाउँपालिका अनुदानमा १ जना शिक्षक माग

रोल्पाको लुङ्ग्री गाउँपालिकाले स्थानीय अनुदान शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर १ स्थित श्री कल्याण प्राविको लागि बालबिकास गाउँपालिका अनुदान शिक्षक पदमा १ जना अनुदान शिक्षक माग गरेको हो । 

इच्छुक व्यक्तिले आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी जेठ २ गतेभित्र आवेदन दिन सक्नेछन्।  आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ । 

पालिकाले बनाएका स्वास्थ्य नीति आएनन् कार्यान्वयनमा

दाङका सबै पालिकाले बनाएका  स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतिनिधि निर्वाचित भएको बेला नै सो नीति बनाएका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले स्थानीय तहले ल्याएका स्वास्थ्य नीति प्रभावकारी कार्यान्वयनमा आउन नसकेका जनाइएको छ। सङ्घीय मन्त्रालयले बनाएको कानुनमा टेकेर प्रदेश र स्थानीय तहले कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्था छ । पहिले स्थानीय तहले नीति बनाएको र पछि सङ्घले मापदण्ड संशोधन गरेकाले स्थानीय तहले बनाएका कानुन काम लाग्ने अवस्था नरहेको हो।