close

कृषकलाई अनुदानको वर्षा, गाउँमै बन्दै छ चिडियाघरदेखि ठूला पार्क 

सरकारको पैसाले चियासमेत पिउँदैनन् अध्यक्ष 

कृषकलाई अनुदानको वर्षा, गाउँमै बन्दै छ चिडियाघरदेखि ठूला पार्क 

सरकारको पैसाले चियासमेत पिउँदैनन् अध्यक्ष 

Trulli
ADVERTISEMENT

पाँचथर– जनताको नजिकको सरकारको रुपममा मानिएको स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख  महंगो गाडी चढेको भनेर आलोचना हुने गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै अन्य प्राथमिकतालाई छाडेर चारचक्के गाडी खरिद गरेर मोजमस्ती गर्ने जनप्रतिनिधि धेरै छन् । 

 

पूर्वी पहाडका पहाडी जिल्लाका ग्रामिण सडकहरु बर्षामा गाडी कुदाउन नसक्ने गरीे विग्रिन्छन् । तर यहाँका गाँउपालिका तथा नगरपालिकाका प्रमुख तथा कतिपय ठाँउका उपप्रमुखले  निक्कै महंगा गाडी चढ्छन् । तर पाँचथरको दक्षिणी मिक्लाजुङ गाँउपालिकाका प्रमुख अमरराज माखिम भने  फरक देखिएका छन् । उनी मोटरसाईकलमा दौडिन्छन् । गाँउपालिका प्रमुखको रुपमा निर्वाचित भएपछि चार चक्के गाडी गाँउपालिकाले नकिन्ने योजना बनाएको उनले सुनाए । 

 

‘ग्रामिण क्षेत्रमा रहेको गाँउपालिका छ । पहिला बाटो राम्रो बनाउनु पर्यो नि ! यतिञ्जेल गाडी किनिएन । म प्रमुख भइन्जेल आफ्नालागि गाडी किन्दिन । गाँउपालिकाको प्रथामिकता सुविधाभन्दा अन्य छन,’ उनले भने । 

 

स्थानीय तह कार्यान्वयनमा आएपछि गाँउपालिकामा विकासले गति लिएकाे देखिन्छ । सडक, विजुली, पूर्वाधार, पर्यटन, स्वास्थ्य जस्ता विकास तथा सेवामा परिवर्तन आएको स्थानीयवासी बताउँछन् । गाउँपालिकाले नौलो तर अर्थपूर्ण काम गर्दै आएको छ । यसको नेतृत्व प्रमुख अमर माखिले गरेका छन् । ४५ वर्षीय माखिम कुनै दुर्घटना होस या योजनाको अनुगमनमा होस, मोटरसाइकल लिएर दौडिहाल्छन् । 

 

‘जनताको काममा लागि साझ विहान भनेको छैन । बजेटको सही रुपमा कार्यान्वय हुनुपर्छ भन्ने विषय महत्पूर्ण हो’ उनले भने, ‘जनतालाई नजिकको सरकारको अनुभुक्ति दिनका लागि प्रयास गरिहेको छु ।’

 

 

रविमा कालोपत्रे, विजुली र भवनपनि 

गाँउपालिकाको केन्द्र रवि बजारमा छ । यो जिल्लाको ग्रामिण क्षेत्रको महत्पूर्ण  बजार हो । पुरानो बजार भएपनि रविमा विजुली, खानेपानी अभाव तथा हिलाम्मे सडकको अवस्था थियो । तर अहिले रवि बजारको मुहार फेरिएको छ । 

 

विकासका आयामहरु खुल्दै गएपछि रवि बजारपनि सहरीकरण हुदै गएको छ । दुई वर्ष अघि रविमा केन्द्रीय प्रसारणको विजुली बल्यो । ‘अनेक ठाँउमा प्रयास गरियो, विजुली आएपछि अन्य सुविधा थपिए,’ माखिम हौसिदै भन्छन् । बसाई सरेर तराई झरेकापनि रवि फर्किएका थुप्रै उदाहरण माखिमले सुनाए । अग्ला घर बन्दै छन्, सुविधा थपिने क्रम छ ।

 

उनले भनेझै बजारवासी विजुली पुगेपछि खुसी देखिएका छन् । विजुली रविका लागि निक्कै ठुलो आवश्यकता थियो ।  बजार क्षेत्रमा सडक कलोपत्रे समेत भएको छ । कालोपत्रे भएपछि बजार चिटिक्क देखिएको छ । प्रदेश सरकारसँगको सहकार्यमा ५ करोड ८० लाखमा २ हजार ३ सय मिटर बजार क्षेत्रको सडक कालोपत्रे भएको छ । 

 

यस्तै रवि बजार आसपासमा लिफ्ट सहितको गाँउपालिका भवन, सामुदायिक भवन निर्माणको काम भइरहेको छ । यस्तै खुल्ला आकास मुनि रहेको पशुहाट, कृषि हाट बजारलाई व्यवस्थित गरिएको छ । बधशाला निर्माण सम्पन्न भएको छ । रवि बजारको खानेपानी समस्या समाधानका लागि अघि सारिएको योजना पुरा भएको छ ।  

 

जनताको विश्वास, निःशुल्क जग्गा 

भवन तथा अन्य निर्माणका कामका लागि गाँउपालिकाले जग्गा स्थानीयबासीले दिने गरेको माखिम बताउँछन् । उनका अनुसार गाँउपालिका विभिन्न क्षेत्रमा पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि स्थानीय बासिन्दाले २ सय ७५ रोपनी जग्गा निःशुल्क रुपममा गाँउपालिकालाई उपलब्ध गराएका छन् । 

 

रवि बजार आसपासदेखि भित्री गाँउमा आवश्यक पर्ने जग्गा उपलब्ध भएको हो । अनुरोधलाई जनताले स्वीकार्दै विस्वासले जग्गा उपलब्ध गराएको उनी सुनाउँछन् । 

 

स्वास्थ्य केन्द्र, सभागृह, कृषि थोक, बसपार्क, कवर्ड हल, डम्पिङ साइट, चिडियाखाना, चिस्यान केन्द्र, हाईअल्टीच्यूट खेलमैदान, पशु बजार, कृषि भवन, आँखा अस्पताल, गाँउपालिका भवन, नापी, मालपोत लगायतका कार्यालयका लागि जग्गा निःशुल्क  प्रदान गरिएको छ । जग्गा दिइएको ठाँउमा पूर्वाधार निर्माणको काम अघि बढाइएको माखिमले जानकारी दिए ।

 

धेरै फलाउनेलाई अनुदान, कृषिमा प्राथमिकता 

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिएपछि गाँउमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उपायबारे सोचिरहेको माखिम बताउँछन् । उनले गाँउपालिकामा धेरै अन्न उत्पादन गर्नेलाई अनुदान सहयोग गर्ने योजना गाँउपालिकाबाट पारित गराएका छन् ।

 

अव ४० मुरी भन्दा धेरै धान फलाउने किसानले १ लाख रुपैयाँ अनुदान पाउने छन् । यस्तै, चार फुट अग्लो र २० फुट लम्बाईको थाङ्ग्रो मकै फलाउने किसानलाई पनि १ लाख अनुदान दिने घोषणा गरिएको छ ।  मकै फलाउने किसानले आवेदन दिइरहेको उनले जानकारी दिए । यस्तै, ३५ मन (प्रतिमन ४० केजी) देखि माथि आलु फलाउनेलाई प्रतिकेजी अनुदानको कार्यक्रम सुरु भएको छ । प्रतिकेजी २० रुपैँया अनुदान दिइएको छ । 

 

आलु कृषकलाई १७ लाख रुपैँया अनुदान दिइसकेको उनले जानकारी दिए । ‘हामीले फलफूलका विरुवा बाँढेका छौँ । विउँ बाँढेका छौँ । कोलस्टोर र जुस फ्याक्ट्री बनाउन काम अघि बढाइएको छ,’ उनले भने, ‘गाँउपालिकाका धेरैजसो जनता कृषिमा निर्भर भएकाले उनीहरुको जीवनस्तर सुधार्ने गरी कृषिमा कार्यक्रमहरु अघि सारेको छौँ ।’ नमुना कृषि फर्मका लागि ४२ रोपनी जग्गा किनेर काम शुरु गरिसकेको उनको भनाइ छ ।

 

सिचाई कुलोका योजना सञ्चालनमा रहेको गाउँपालिकामा पशुपालनका कार्यक्रम पनि अघि सारिएको माखिमले जानकारी दिए । कृषकलाई दिएका अनुदान  सदुपयोग भए– नभएको अनुगमन गर्न वडा स्तरमै संयन्त्र बनाइएको उनले जानकारी दिए ।

 

चिडियाखाना बनाइदै 

पालिका भित्रको जरिबुटे भन्ने डाँडामा वुद्ध पार्क बनाउने योजनालाई गाँउपालिकाले गौरबको आयोजनाको रुपमा लिएको छ । विभिन्न हिमश्रृखलासाथै अन्य दृष्यावलोकन गर्न मिल्ले यो ठाँउमा वुद्ध पार्कको काम भइरहेको छ । १ सय क्विन्टेल धातुको ४५ फिट अग्लो वुद्धको मुर्ति राख्ने तयारी भएको माखिमले सुनाए । यो नेपालमै सबैभन्दा ठुलो धातुको मुर्ति हुने उनको दावी छ ।

 

आसपासमा शिव र फाल्गुन्दको मुर्ति  राख्ने योजना भएको उनले सुनाए । यस्तै, स्थानीय तहको नौलो कामको रुपमा चिडियाखाना बनाउने योजना अघि सारिएको छ । निर्माणाधीन गाँउपालिका भवन नजिकै जग्गा जुटाएर डीपीआर गरिसकिएको  उनले बताए । 

 

गाउँपालिका अव नुवा खोलामा ड्याम बाध्ने योजनामा छ । रक क्लाईम्बिङका लागि स्थान खोजिरहेको गाउँपालिकाले मिक्लाजुङ डाँडा लगायका पर्यटकीय गन्तव्यको विकास तथा प्रचारमा जोड दिइएको माखिमको भनाई छ । राँके–रवि–भेडेटार सडक कालोपत्रे भएपछि पर्यटकको आवागमन बढ्ने उनको विश्वास छ ।

 

सडक, खानेपानीसँगै स्वास्थ्य र शिक्षामा सुविधा 

गाँउपालिकाले सडकलाई प्राथमिकतामा राखेको छ । ट्रायक बनेका सडक स्तरोन्नति गर्ने योजना रहेको उनले सुनाए । गाँउपालिकाले ३५ किलोमीटर सडक ग्रावेल गरेको उनको भनाइ छ ।  सडकसँग खानेपानी, स्वास्थ्य तथा शिक्षामा जोड दिएको उनले सुनाए । रविमा रहेको प्राथामिक स्वास्थ्य चौकीमा गाँउपालिकाका बासिन्दाले निःशुल्क भिडियो एक्सरे गर्न पाउँछन् । 

 

दैनिक औषधि सेवन गर्ने र दीर्घ रोगीलाई गाउँपालिकाले बार्षिक २० हजार रुपैँया सहयोग गर्ने गरेको छ । यहाँका स्वास्थ्य केन्द्रमा गर्भवती हुन नसके अस्पतालसम्म गाउँपालिकाले नै लैजान्छ । बाल पोषण भत्ताको रुपमा बच्चाले महिनाको ५ सय रुपैँया रकम पाउँछन्  । गाउँपालिका आफैले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । पोष्टमार्ट निःशुल्क गरिएको छ । 

 

गाँउपालिकलाई टुक्की मुक्त गर्न जुटेको गाउँपालिकाले हाललाई निम्न आर्थिक अवस्थाका २ सय ५० परिवारलाई टुकी वितरण गरेको अध्यष माखिमको दावी छ । 

 

खानेपानी योजना सञ्चालन, मर्मत लगायतका काम पनि भइरहेको उनले सुनाए । पक्की विद्यालय बनाउने काम पनि अघि बढाइएको भन्दै उनी विकासमा जनताले साथ दिएको भन्दै खुसी व्यक्त गर्छन । 

 

आफ्नै घरमा बस्छन्

अध्यक्ष माखिमले क्वाटर सुविधा नलिएको बताए । उनी रवि बजारमा रहेको आफ्नै घरमा बस्छन् । ‘जनताको सेवामा लागि परेको छु । गाँउपालिकामा साथीभाई भेट्न आउदा चियाको विल पनि मासिक रुपमा आफै तिर्ने गरेको छु’ उनले भने ।

 

गाँउपालिका प्रमुख हुनुपूर्व उनी राजनीतिमा थिएनन् । उनी व्यवसायी थिए । मिक्लाजुङ गाँउपालिकाको नेतृत्व गरिरहदा सबैको सहयोग पाएको उनले सुनाए । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलको सहयोग पाएको माखिमले बताए । प्रदेश तथा संघीय सरकारले पनि सहयोग गरेको उनको भनाई छ ।

 

समस्या पनि छन्

गाँउपालिका सञ्चालनको क्रममा विभिन्न किसिमबाट सिकाई भएको उनले सुनाए । काम गर्दै जादा देखिएका समस्या समाधान गर्ने गरेको सुनाए ।विकास निर्माणका क्रममा बनको समस्या देखिएको उनले बताए । यस्तै संघीय सरकारले अघि बढाएका योजना स्थानीय स्तरमा काम सम्पन्न भएपछि कसले अनुगमन, संरक्षण गर्ने भन्ने समस्या भएको उनले सुनाए ।