close

कोरोना नियन्त्रणामा पुगेन बजेट, लेटाङले खर्चियाे ९४ लाख

कोरोना नियन्त्रणामा पुगेन बजेट, लेटाङले खर्चियाे ९४ लाख

Trulli
ADVERTISEMENT

मोरङ -  देशभरका सबै स्थानीय तह कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय रहे पनि उनीहरुले प्रदेश सरकारबाट पाउने रकम कम भएको बताएका छन् । 

 

प्रदेश १ को मोरङस्थित लेटाङ नगरपालिकाले पनि कोरोना रोकथाम नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनका विशेष कार्यक्रम सञ्चालन गर्दै आए पनि रकम कम भएको जनाएको छ ।


प्रदेश सरकारबाट कोरोना रोकथाम तथा नियन्त्रणमा प्राप्त रकम पर्याप्त नहुँदा स्थानीय तहले काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख शंकर राई बताउँछन् । उनले भने, ‘कोरोना रोकथाम नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा प्रदेश सरकारद्वारा प्राप्त रकम पर्याप्त छैन ।’  लेटाङ नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त गरेको १० लाख रकमसँगै राहत कोषको स्थापना गरी स्थानीय संघसंस्था तथा व्यक्तिद्वारा १८ लाख ४५ हजारभन्दा बढी रकम संकलन गरेको छ । 


सांसद, नगरका जनप्रतिनिधि, कर्मचारीसमेतले आर्थिक सहयोग गरेको प्रमुख राई बताउँछन् । देशका विभिन्न जिल्ला तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न सुरुमा निकै जटिल बनेको अनुभव प्रमुख राईले सुनाए । 


लेटाङमा लेटाङ क्याम्पसलाई क्वारेन्टान बनाइएको छ । वडा नम्बर ५ मा रहेको सय बेड क्षमताको क्वारेन्टाइन व्यवस्थापनले कोरोना रोकथाम तथा नियन्त्रण सहज बनाएको लेटाङ स्वास्थ्य शाखाका प्रमुख महेन्द्र चौधरीले जानकारी दिए । ‘अहिलेसम्म ४ सय ७५ जनाको पिसिआर परीक्षण भइसकेको छ । तीमध्य २१ जना पोजिटिभ देखिएका छन्’, चौधरीले भने । 


अहिलेसम्म लेटाङमा कोरोना रोकथाम नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनका लागि ९४ लाख ५० हजार ७४ खर्च भइसकेको लेखा अधिकृत सुशील बाँस्तोलाले जानकारी दिए । वडा नम्बर २ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा नगरपालिकाले आइसोलेसन निर्माणको तयारी सुरु गरेको छ । वडा–२ का अध्यक्ष तेजप्रकाश तिम्सिनाका अनुसार ७० हजारको खर्चमा १० बेड क्षमताको आइसोलेसन तयार हुँदै छ । 


औषधी अभाव हुन नदिन ठेक्का प्रक्रियामा रहेको झन्झटिलो प्रावधानका कारण ५ लाखमा नगरपालिकाले नै औषधी खरिद गरेको नगरप्रमुख राईले बताए ।


लेटाङ नगरपालिकाको वडा नम्बर १ मा करिब १ करोड २० लाख बराबरको स्वास्थ्य चौकी निर्माणसँगै वडा–७ स्थित वारंगीमा ७० लाख बराबरको स्वास्थ्य चौकी निर्माणको योजना छ भने वडा–९ स्थित जातेमा रहेको स्वास्थ्य चौकीमा थप संरचना निर्माण गर्ने योजना रहेको नगरप्रमुख राईले जानकारी दिए ।