close

नगरपालिकाको पहलमा गर्भवतीको उद्धार

नगरपालिकाको पहलमा गर्भवतीको उद्धार

Trulli
ADVERTISEMENT

ओखलढुंगा - सिद्धिचरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा गर्भवती महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ । अत्याधिक रक्तश्रावका कारण ओखलढुंगामा उपचार सम्भव नभएपछि २९ साताकी  गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 


राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सिद्धचरण नगरपालिका वडा-५ कि सुमिना शेर्पाको उद्धार गरिएको हो । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत शेर्पाको अत्यधिक रक्तश्राव हुने, हातगोडा सुन्निने भएपछि अस्पतालले काठमाडौं  रेफर गरेको थियो ।


एम्बुलेन्समार्फत पठाउने अवस्था नरहेकाले  राष्ट्रपति कार्यालयमा समन्वय गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिए ।


शनिबार नै अस्पतालले अन्यत्र लैजान भने पनि नगरपालिका, प्रशासन कार्यालयबाट अनुरोध गरी राष्ट्रपति कार्यालयबाट समेत स्वीकृति गराउँदा समय लागेकाले आइतबार बिहान उद्धार गरिएको हो । हेलिकोप्टरमा ती गर्भवतीसँगै एक कुरुवा पनि पठाइएको स्थानीय गोपाल गिरीले बताए । 


राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती उद्धार गरिएको यो दोस्रो पटक हो । यसअघि चम्पादेवीको फेदिगुठबाट एक सुत्केरीको उद्धार गरिएको थियो ।