स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाले आजदेखि स्मार्ट वालिङ डिजिटल सिस्टम सेवा सुरु गरेको छ । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा नगरलाई नेपालकै उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट वालिङ एप्स सञ्चालनमा ल्याइएको हो ।
वालिङ वडामा हुने सिफारिसका काम डिजिटल सिस्टमबाट भुक्तानी गर्ने नेपालकै पहिलो पालिका बनेको छ । स्मार्ट पालिकाले निर्माण गरेको वालिङ नगरपालिका स्मार्ट मोबाइल एप तथा विद्युतीय सुशासन प्रणाली वालिङलाई हस्तान्तरण गरेसँगै सेवा सुरु भएको हो ।
डिजिटल सिस्टम कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले विज्ञान तथा प्रविधिको यूगमा डिजिटल सिस्टमबाट सेवा सञ्चालन गरिनु उदाहरणीय काम भएको बताए । उनले जन्मदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण सेवाहरु वडा तथा नगरपालिका कार्यालयसम्म नगईकन घरबाटै स्मार्ट मोबाइल एपबाट लिन सकिने भएकाले सेवाग्राहीलाई सहज हुनुका साथै सुशासनका लागि सहयोगी हुने धारणा राखे ।
‘डिजिटल सिस्टमलाई कार्यान्वयनका लागि सुरुका चरणमा केही समस्या आउन सक्छन्’, प्रजिअ क्षेत्रीले भने, ‘समस्या आउँछन् भनेर अगाडि नबढ्ने होइन, समस्यासँग जुध्दै अगाडि बढे मात्रै सफल बन्न सकिन्छ । यसको सुरुआत वालिङले गरेको छ ।’
कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले स्मार्ट वालिङ डिजिटल सिस्टम सुरुसँगै नगरका सबै गतिविधि हेर्न सकिने भएकाले पनि पारदर्शी सुशासन कायम हुने बताए ।
‘स्मार्ट सिटी वालिङ निर्माणका लागि २० वर्षको योजना बनाएका छौं’, नगरप्रमुख खाँणले भने, ‘स्मार्ट वालिङ डिजिटल सिस्टम स्मार्ट पालिका निर्माणका लागि तयार गरिएका १ सय ६ सूचकमध्ये एउटा सूचक हो । अझ धेरै काम गर्नुपर्नेछ । त्यसका लागि २० वर्ष लाग्नेछ । सूचकहरु पूरा हुनेबित्तिकै आधारभूत तहको स्मार्ट सिटी बन्नेछ ।’
विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) को प्रयोगले छिटोछरितो, पारदर्शी सेवा प्रदान गर्न सकिनुका साथै कागजी प्रक्रियाको समेत अन्त्य हुने नगरप्रमुख खाँणको भनाइ छ ।
‘जनप्रतिनिधि तथा कर्मचारीहरु सबैलाई व्यक्तिगत रुपमा ‘क्रिप्टो टोकन’ उपलब्ध गराएका छौं’, नगरप्रमुख खाँणले भने, ‘विद्युतीय हस्ताक्षर लागू भएपछि सेवाग्राहीले कार्यालय समयबाहेक पनि सेवा लिन सक्नेछन् ।’
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले आधुनिकतासँगै भित्रिएका नयाँ प्रविधि प्रयोग गर्दै वालिङलाई स्मार्ट सिटी बनाउने अभियानमा नगरपालिका जुटेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वालिङलाई स्मार्ट नगरको रुपमा विकास गर्न ल्याइएका सूचकमध्येको स्मार्ट वालिङ डिजिटल सिस्टमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे । नगरबासीलाई यसबारे आवश्यक तालिम तथा प्रशिक्षण चलाइने उनको भनाइ छ ।
रेडियन्ट इन्फोटेक नेपालले वालिङ नगरपालिकालाई विद्युतीय हस्ताक्षर उपलब्ध गराएको थियो भने सेलएपले डिजिटल प्रणाली हस्तान्तरण गरेको थियो । सोही अवसरमा अनलाइन पेमेन्ट गेटवेका लागि डिजिटल पेमेन्ट सिस्टम खल्तीसँग नगरपालिका र खल्तीबीच सम्झौता आदानप्रदान भएको छ ।