close

स्वास्थ्य सेवामा जिल्लाकै नमुना बन्दै गजुरी गाँउपालिका

स्वास्थ्य सेवामा जिल्लाकै नमुना बन्दै गजुरी गाँउपालिका

Trulli
ADVERTISEMENT

धादिङ– धादिङको गजुरी गाँउपालिका स्वास्थ्य सेवामा अव्वल बन्दै गएको छ । आफ्नो सवै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्नुका साथै घरमा शुन्य प्रसुुती, विद्यालय स्वास्थ्य कार्यक्रम, एम्वुलेन्स सेवा सञ्चालन र पूर्व प्रसुती प्रतिक्षा घर जस्ता कार्यक्रम मार्फत समुदायलाई स्वास्थ्य सेवामा सहयोग पु¥याएर जिल्लामै अव्वल बन्न सफल भएको छ ।


गाँउपालिकाले गजुरीवजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउन आवश्यक जग्गा व्यवस्थापन समिति गठन गरेर प्रकृया अघि बढाइसकेको छ । गाउँपालिकाको मातहतमा आएपछि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारले तोकेको सेवा भन्दा थप सेवा विस्तार गरिएको पालिकाको दावी छ ।

 

सेवा विस्तार गर्ने क्रममा डिजिटल एक्स–रे मेसिन, रगत जाँचका लागि हेमाटोलोजी एनालाइजर, १५ वर्षमुनिका वालवालिकालाई लगाउने १२ वटा खोप र गर्भवती महिलाहरुलाई लगाईने खोप चिस्याउन आवश्यक पर्ने डिफ्रिज सेवा पालिकाले व्यवस्थापन गरिदिएको छ ।


नागरिकलाई आवश्यक पर्ने आधारभुत स्वास्थ्य सेवा सुदृढ गर्दै अस्पतालको रुपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई विकास गर्न हरेक वर्ष नयाँ सेवाहरु विस्तार गर्दै लैजाने योजना अनुसार साविकका गाविसमा रहेका स्वास्थ्य चौकीहरुलाई स्तरउन्नतिसँगै एक–एक वटा एम्वुलेन्स हस्तान्तरण गरेको गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए ।

 

अध्यक्ष बस्नेतका अनुसार पालिकाभित्र रहेको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई वटा स्वास्थ्य केन्द्र र पाँच वटा आधारभुत स्वास्थ्य केन्द्रबाट नागरिकले स्वास्थ्य सेवा पाइरहेका छन् ।

 


पृथ्वी राजमार्गको मलेखु फुर्केखोलादेखि बेल्खुसम्मको भाग गजुरी गाउँपालिकामा पर्ने भएकाले राजमार्ग दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा पनि स्वास्थ्य केन्द्रले सेवा दिनुपर्ने वाध्यता छ ।

 

पालिका भित्रका कुनैपनि स्वास्थ्य संस्थामा सेवा लिन आउने विरामीलाई उपचारमा कमी हुन नदिन पालिका सम्वेदनशील रहेको स्वास्थ्य शाखा प्रमुख डाक्टर रामहरी रेग्मी बताउँछन् । पालिकाले पाँच वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएर ती स्वास्थ्य संस्थालाई आवश्यक पर्ने भौतिक पूर्वाधार निमार्ण भइरहेको डाक्टर रेग्मीले जानकारी दिए ।


घरमा शुन्य प्रसुति गराउन पूर्व प्रसुति प्रतिक्षा घर सञ्चालन र आर्थिक अवस्था कमजोर परिवारलाई निःशुल्क एम्वुलेन्स सेवा दिएर नवजात शिशु तथा आमाको स्वास्थ्यमा विषेश ध्यान दिएको र गर्भवतीहरुको नियमित खोपसँगै ग्रामीण अल्टासाउण्ड गराउने व्यवस्था गरेको पालिका उपाध्यक्ष सिता ढुुंंगाना बताउँछिन् ।


बागमती प्रदेश सरकार अन्तर्गत रहेको स्वास्थ्य कार्यालय धादिङको आर्थिक सहयोगमा एक्स–रे मेसिन, हेमाटोलोजी एनालाइजर र खोप चिस्याउन डिफ्रिज खरिद गरेको स्वास्थ्य संयोजक डाक्टर रेग्मीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्र्टमाटम सेवा , मर्चिङ फ्रिज, सेवा थप गरिएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर खगेन्द्र श्रेष्ठले बताए ।     


प्राथमिक स्वास्थ्य केन्द्र राजमार्ग क्षेत्रमा रहेकाले सडक दुर्घटनाका घाइतेहरुको जुनसुकै बेला उपचार गर्नु पर्ने हुन्छ ।केन्द्रमा सेवा लिनेहरु मध्ये ४० प्रतिशत गाँउपालिका बाहिरका छन् । गाँउपालिकाले १५ वेडको अस्पताल सञ्चालन गर्न पाउने व्यवस्था अनुसार अस्पताल बनाउन जग्गा खोज्ने काम भइरहेको गजुरी १ का वडा अध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितले बताए ।


गाँउपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्ने प्राविधिक र अप्राविधिक गरी ४५ जना कर्मचारी छन् । गाँउपालिका स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक र सिनियर अनमी कार्यरत छन् ।

 

प्राथमिक स्वास्थ्य केन्द्रमा तीन मेडिकल अधिकृतसहित १४ जना स्वास्थ्यकर्मी र तीन सहयोगी कर्मचारी छन् । यसैगरी किराञ्चोक स्वास्थ्य चौकीमा अहेवको नेतृत्वमा चार र सिअहेवको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीहरु छन् भने एक÷एक जना सहयोगी कर्मचारी छन् ।


पाँचवटा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा अहेवको नेतृत्वमा अनमी र कार्यलय सहयोगी कर्मचारी सहित तीन÷तीन जना छन् ।

 

डोलभन्ञ्याङ माध्यमिक विद्यालयमा एक जना नर्सले सेवा दिइरहेकी छिन् ।  गाँउपालिकाले २२ जना करार सेवामा स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी राखेको छ भने संघीय सरकारले २ जना मेडिकल अधिकृत करारमा पठाएको छ । वागमती प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमबाट एक जना नर्स करारमा पठाएको छ ।