close

गाउँ जोड्न तम्सिए जनप्रतिनिधि

गाउँ जोड्न तम्सिए जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

ओखलढुंगा-  २ वडालाई सडक सञ्जालमा जोड्न मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीय एवं जनप्रतिनिधि एकढिक्का भएका छन् । वडा २ र ३ लाई आपसमा जोडेर विकासको साझेदारी गर्न उनीहरू तम्सिएका हुन् ।


‘विकासको जग नै सडक भएकाले बाटो पुगेपछि मात्रै गाउँको विकास हुने रहेछ’, वडा–२ का वडाध्यक्ष उमेश कार्की अनुभव सुनाउँछन् । बाटो पुगेपछि मात्रै अन्य पूर्वाधार विकासका काम सहज हुने भएकाले दुई गाउँ जोड्न आवश्यक रहेको उनले बताए ।


वडा–२ वाक्स र वडा–३ उबुँलाई सडक सन्जालले जोड्न गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको थियो । यही बजेटले उपभोक्ता समितिमार्फत सडक खन्ने काम भइरहेको छ ।


उपभोक्ता समितिमार्फत स्थानीय र जनप्रतिनिधि दसैंअघि नै योजना पूरा गर्न जुटेका छन् ।


वडा कार्यालयबाट गाउँपालिका जाने छोटो बाटो निर्माण गर्न खोजिएको २ नम्बर वडाका वडाध्यक्ष कार्कीले बताए । अहिले वडा ३ बाट २ नम्बर जोड्ने गरी निर्माण भइरहेको छ । अब २ नम्बर वाक्सा हुँदै गाउँपालिका केन्द्र जोड्ने लक्ष्य छ ।


वडा–१ मोलीबाट ३ नम्बर उबुँ हुँदै वाक्साबाट मानेभन्ज्याङ जोडिएपछि गाउँपालिकाका सबै वडा सडक सन्जालले जोडिने गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए ।


सिद्धिचरण राजमार्ग गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम ओखलढुंगा आए पनि मानेभन्ज्याङका सबै वडा सडक सन्जालमा जोडिन बाँकी छन् । चालू वर्षमै सडक सन्जालमा जोड्ने लक्ष्य रहे पनि कोरोना बाधक भएको गाउँपालिका बताउँछ ।