close

वालिङका महिला खेलाडीलाई छात्रवृत्ति

वालिङका महिला खेलाडीलाई छात्रवृत्ति

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरूको प्रोत्साहनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

 

वालिङको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरूको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था गर्न लागिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।


‘महिला फुटबलमा सम्भावना बोकेका वालिङका महिला खेलाडीलाई खेलसँगै शैक्षिक योग्यतालाई ध्यानमा राखेर छात्रवृत्तिको व्यवस्था गर्दै छौँ’, नगरप्रमुख खाँणले भने, ‘यसले गर्दा खेलसँगै अध्ययन अगाडि बढाउन उनीहरूलाई आर्थिक भार पर्ने छैन ।’

 

यहाँका महिला खेलाडीले विगतमा भएका विभिन्न प्रतियोगितामा वालिङको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेकाले नगरको गरिमालाई उँचो बनाएको सम्मानस्वरूप छात्रवृत्ति दिन लागिएको नगरप्रमुख खाँण बताउँछन् ।


‘वालिङले फुटबल खेलको विकास र खेलाडीहरूको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउन लगानी गरेको छ’, नगरप्रमुख खाँणले भने, ‘खेल क्षेत्रमा गरिएको खर्च लगानी भएकाले भोलिका दिनमा प्रतिफल प्राप्त हुने अपेक्षा छ ।’


नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षकको रूपमा करारमा नियुक्त गरेको छ ।


वालिङको महिला फुटबल टिमले राष्ट्रिय स्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आएकाले आगामी लिगमा पनि सोही नतिजा ल्याउने रणनीति अपनाउन नगरपालिकाले आवश्यक सहयोग गर्न लागेको उपप्रमुख कल्पना तिवारीले बताइन् ।


महिला खेलाडी आफूले अध्ययन गर्दै आएको विद्यालय-क्याम्पस उल्लेख गरी छात्रवृत्तिका लागि नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने उपप्रमुख तिवारीले जानकारी दिइन् । नगरपालिकाले आगामी लिगलाई लक्षित गरेर विदेशी खेलाडीसमेत अनुबन्ध गर्ने तयारी सुरु गरेको उनको भनाइ छ ।


वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको क्षमता विकासमा अग्रसरता देखाएर ऊर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताइन् ।


आगामी ७ माघबाट काठमाडौँमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन वटा टिम प्रतिस्पर्धामा उत्रँदै छन् ।


वालिङमा मंगलबार भएको छलफलमा एन्फा महिला फुटबल समिति सदस्य एवं ओलम्पिक पदक विजेता खेलाडी संगीना वैद्य, एन्फा केन्द्रीय सदस्य एलबी ज्वारचन, एन्फा स्याङ्जाका अध्यक्ष मुक्तबहादुर राना, उपाध्यक्ष ताराबहादुर गुरुङ, महासचिव भीमप्रसाद पंगेनी, फुटबल प्रशिक्षक दिलीप थापालगायतले फुटबल खेलको सम्भावना र चुनौतीबारे धारणा राखेका थिए ।