close

झिमरुकले थाल्यो योजना अनुगमन

झिमरुकले थाल्यो योजना अनुगमन

Trulli
ADVERTISEMENT

प्युठान– प्युठानको झिमरुक गाउँपालिकाले पालिकामा चालू आर्थिक वर्षका लागि सञ्चालन गरेका योजना तथा कार्यक्रमको अनुगमन सुरु गरेको छ । गाउँपालिका स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिले पालिकाभर सञ्चालनमा रहेका योजना तथा कार्यक्रमको अनुगमनलाई तीव्रता दिएको हो ।

 

झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीसहितको टोलीले सुरु भएका तथा काम सम्पन्न भइसकेका सडक, विद्यालय, स्वास्थ्य संस्था, शौचालय, खानेपानीलगायत योजना तथा कार्यक्रमको अनुगमन तथा निरीक्षण गरिएको पालिकाले जनाएको छ ।

 

झिमरुकको वडा नम्बर ६ मा निर्माण सम्पन्न गरेका विद्यालयका भवन तथा निर्माणाधीन भवन, शौचालय र खानेपानी पूर्वाधार परियोजना तथा विभिन्न सडक निरीक्षण गरिएको थियो ।

 

नेटा–धगे सडक स्थलगत निरीक्षण गर्दै पालिका अध्यक्ष जिसीले काम सन्तोषजनक देखिएकाले यो सडक तोकिएको समयमै सम्पन्न हुने गरी अध्यक्ष कोषबाट थप ६ लाख रुपैयाँ थप गरिएको जानकारी दिए । उनले भने, ‘राम्रो काम गर्ने उपभोक्ता समितिलाई प्रोत्साहन गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने व्यवस्था गरेका छौँ ।’

 

नेरा मावि मर्कावाङ विद्यालयमा निर्माणाधीन २ कोठे भवन तथा बालमैत्री शौचालय, सल्लेरी गाउँ जोड्ने मोटरबाटो, तोरवाङ स्वास्थ्य चौकी जाने मोटर बाटो, नेटा–धगे सडक, चिसावाङ–नेटा वडा कार्यालय जोड्ने सडकको नेटा खण्डमा पहिरो नियन्त्रणका लागि ग्याबिन लगाउने कामको अवस्थाबारे जानकारी लिइएको वडाध्यक्ष निमानसिंह जिसीले बताए ।

 

चालू आवका लागि नेरा मावि मर्कावाङ विद्यालयमा निर्माणाधीन २ कोठे भवनका लागि लुम्बिनी प्रदेश सरकारबाट १५ लाख र बालमैत्री शौचालय निर्माणका लागि पालिकाबाट ७ लाख रुपैयाँ बजेट  विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।

 

चालू आवमा सञ्चालित योजना तथा कार्यक्रम सम्झौतामा तोकिएको समय काम सम्पन्न गरेर भुक्तानी लैजानसमेत उपभोक्ता समितिलाई जानकारी दिइएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । उनका अनुसार ८ वटै वडामा सञ्चालित योजनाको क्रमशः अनुगमन गरिनेछ । 

 

त्यस्तै, पालिकामा सुरु गरिएका सडकलगायत विभिन्न पूर्वाधार आयोजनाको अनुगमन गर्दै ग्रामीण बस्तीका सडक, खानेपानी, सिँचाइ, भवन, शौचालयलगायत निर्माणले गति लिएको देखिएको इन्जिनियर निरज शाहले बताए ।

 

‘प्राविधिक रूपमा काम लागतअनुसार हुनुपर्‍यो । कुनै पनि योजना रकम अभावले रोकिने छैन’, अध्यक्ष जिसीले भने, ‘हामीले सुरु गरेका तथा अपूरा र अधुरा योजान क्रमशः पूरा गर्छौं ।’ अनुगमन तथा निरीक्षण टोलीमा गाउँपालिका अध्यक्षसहित वडाध्यक्ष, वडा सचिव, योजना शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, इन्जिनियर र सम्बन्धित योजनाको साइट इन्चार्ज, उपभोक्ता समिति र जनप्रतिनिधिको उपस्थिति थियो ।