close

सीमा नाकामा सिसिक्यामेरा जडान गर्दै मानेभञ्ज्याङ

सीमा नाकामा सिसिक्यामेरा जडान गर्दै मानेभञ्ज्याङ

Trulli
ADVERTISEMENT

ओखलढुंगा- माथिल्लो सगरमाथाको प्रवेशद्वार ओखलढुंगाको हर्कपुर नाकामा सिसिक्यामेरा जडान गरिएको छ । सडक सुरक्षा र आपराधिक घटनाको निगरानीका लागि सुनकोसी पुल र हर्कपुर बजारमा मानेभञ्ज्याङ गाउँपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा क्यामेरा जडान गरिएको हो ।

 

दृश्य अनुगमन भने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले गर्नेछ । त्यसका लागि हर्कपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा अनुगमन स्क्रिन राखिएको छ । यसले नाकामा हुने आपराधिक गतिविधि र सडक सुरक्षाको निगरानी गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

 

मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ को हर्कपुर सगरमाथाका ३ जिल्ला ओखलढुंगा हुँदै खोटाङ र सोलुखुम्बु प्रवेशको नाका हो । ३ वटै जिल्लालाई राजमार्गमा जोड्ने एक मात्र हर्कपुर नाकामा आपराधिक गतिविधि नियन्त्रणका लागि अनुगमन गर्न सहज होस् भनेर सुनकोसी पुल र बजार क्षेत्र देखिने गरी ४ वटा सिसिक्यामेरा राखिएको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए ।

 

प्रहरी कार्यालयको पहलपछि गाउँपालिकाले बजेट विनियोजन गरेर क्यामेरा जडान गरी हस्तान्तरण गरेको छ । क्यामेरा जडानका लागि गाउँपालिकाले ४ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । सीमा नाका तथा बजार क्षेत्रमा चोरी, डकैती तथा अपराधका घटना कम हुने, भइहाले अनुसन्धान गर्न सहज हुने भएकाले सिसिक्यामेरा राखेपछि बजार क्षेत्र सुरक्षित भएको हर्कपुरका व्यापारी शंकर श्रेष्ठ बताउँछन् ।

 

हलेसी मिनिसोलार ग्रिडबाट सिसिक्यामेरा सञ्चालनका लागि बत्ती निःशुल्क उपलब्ध गराइएको छ । क्यामेरा खरिद गर्ने गाउँपालिकालाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी बन्दना राईले सम्मानसमेत गरिन् ।

 

बजार क्षेत्रमा १ वर्षदेखि मर्मतै भएनन्

 

गत वर्ष प्रहरीको पहलमा सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ र १२ का विभिन्न चोकमा राखिएका सिसिक्यामेरा भने सञ्चालनमा छैनन् । गत वर्ष चट्याङ लगेर जलेका ती क्यामेरा मर्मतका लागि नगरपालिका र प्रहरीले चासो दिएका छैनन् ।

 

सिसिक्यामेरा मर्मत गर्ने बजेट प्रहरी कार्यालयमा नहुँदा नगरपालिकाबाटै व्यवस्था हुनुपर्ने प्रहरीले जनाएको छ । वडा नम्बर १२ को गणेशटोल, नयाँबजार, रमाइलोडाँडा, नगरपालिका कार्यालय वरपर, रामबजार र गोरुमारे तथा बैंक तथा वित्तीय संस्था रहेका क्षेत्र आसपास क्यामेरा जडान गरिएका थिए ।

 

मर्मत गरिए नियमित अनुगमन, चोरी, निकासी तथा अन्य आपराधिक घटनाको निगरानी, अनुसन्धान तथा कारबाहीका लागि सहज हुने प्रहरीको भनाइ छ ।